PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

क्रिकेटमा २०७६ साल : नयाँ नेतृत्व र औशत प्रदर्शन



मुकुन्द घिमिरे

क्रिकेटमा २०७६ साल : नयाँ नेतृत्व र औशत प्रदर्शन

२०७६ साल सकिएर नयाँ वर्ष लाग्दैछ। नेपाली क्रिकेटले यो वर्षमा धेरै आरोह अवरोहहरु भोग्यो।

सबैभन्दा मुख्य कुरा अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को निलम्बनबाट अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान) फुकुवा भयो। नेपाली क्रिकेट अघि बढ्न बाटो खुल्यो।

एक दशक सम्म नेपाली टिमको नेतृत्व गरेका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिए। सदाबहार उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान बने। र, एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्यो। एकपटक फर्केर हेरौ है त २०७६ साललाई।

क्लिन स्वीपबाट शुरु

नेपालले असार महिनामा भएको मलेसियासँगको टी २० सिरिज पनि क्लिन स्वीप गरेको थियो। मलेसियामै भएको खेलमा नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल ६ रनले जितेको थियो।

टी २० विश्वकप छनोटमा गुमेको अवसर

सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया छनोटमा फितलो प्रदर्शन गर्दै ग्लोबल क्वालिफायर पुग्न असफल बनेपछि नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको थियो।

५ राष्ट्र सहभागी एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुरविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेपछि हार बेहोरेको थियो। त्यसअघि कतारविरुद्धको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपाललाई बाँकी सबै खेल जित्ने चुनौती थियो। मलेसिया र कुवेतलाई हराउँदै नेपालले सिंगापुरविरुद्धको खेललाई अघोषित फाइनल बनाएको थियो।

उता घरेलु मैदानमा सिंगापुरले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर विजेता बन्यो।

त्रिकोणात्मक सिरिज र पेन्टांगुलर सिरिज

असोज महिनामा नेपालले दुई महत्वपूर्ण सिरिजहरु खेलेको थियो। पहिलो नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित त्रिकोणात्मक सिरिज। दोस्रो नेपाल, आयरल्यान्ड, हङकङ, नेदरल्यान्ड र ओमनसम्मिलित पेन्टांगुलर सिरिज।

सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले एक खेल मात्र जितेको थियो। सिरिजमा नेपालले जिम्बावेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरसँगको अन्तिम खेल वर्षाका कारण रद्ध भएको थियो। सिंगापुरसँगको खेलमा पारस खड्का उत्कृष्ट शतक प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए।

त्यस्तै पेन्टागुलर सिरिजमा नेपालले २ खेलमा जित र २ हार व्यहोर्दै औषत प्रदर्शन गरेको थियो।

क्यान निर्वाचन

राजनीतिक खिचातानी र सरकारी हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपाललाई २०७३ सालमा निलम्बन गरेको थियो।

क्यान निलम्बनमै रहे पनि खेल गतिविधिहरु सुचारु थिए, जसलाई सीधै आइसिसीले मोनिटरिङ गरिरहेको थियो। अभिभावक निकाय नहुनुको पीडा राष्ट्रिय टिमले भोग्दै आएको थियो। यद्यपि, क्यान निलम्बनकै बीच नेपालले एकदिवसीय मान्यता पाएको थियो।

यसैबीच आइसिसीले निलम्बन फुकुवाका लागि क्यान निर्वाचन मुख्य शर्त राखेको थियो। आइसिसीकै रोडम्याप अनुसार क्यानको असोज ११ गते निर्वाचन सम्पन्न भयो र चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भए।

निलम्वन फुकुवा

क्यान निर्वाचन पछि निलम्वन फुकुवा गर्ने आश्वासन दिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले असोज २७ गते निलम्वन फुकुवा गर्‍यो। तर, सशर्त। यो सँगै निर्वाचित क्यानलाई काम गर्न बाटो खुल्यो। आइसिसीले शर्तहरु स्पस्ट नबताए पनि आर्थिक पारदर्शिता, प्रशासनलगायतको विषयमा शर्त रहेको अड्कलवाजीहरु आए। क्यानले स्पस्ट धारणा नदिए पनि त्यही अड्कलबाजीलाई सदर गर्ने किसिमको राय बनायो।

खड्काको राजीनामा

क्यान निलम्वन फुकुवा भएको चर्चासमेत राम्रै भइनसक्दै अर्को विषय चर्चामा आयो, पारस खड्काको कप्तानीबाट राजीनामा। क्यान निलम्वन फुकुवा भएको भोलिपल्टै पारस खड्काले नेपाली क्रिकेट 'फ्रेस स्टार्ट' र 'कमिटेड भिजन'ले नयाँ बाटोमा अघि बढ्नु पर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट राजीनामा दिए।

मल्लको कप्तानी

त्यसपछि नयाँ कप्तानको चर्चा शुरु भयो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारसलाई कप्तानीमा फर्कन आग्रह पनि गरे। क्यानले पारसको राजीनामा स्वीकृत गरेको अर्को कप्तान छानिहाल्न पनि सकेन। पारसले आधिकारीक राजिनामा नदिएकाले क्यानले पत्र नै पठाएर राजीनामाबारे आधिकारीक धारणा माग्यो। र पारसले फेरि पछी आधिकारिक धारणा दिए। क्यानलाई नयाँ कप्तान छान्न बाटो खुल्यो।

त्यसको केही समयमै नेपाली क्रिकेटले नयाँ कप्तान पायो, ज्ञानेन्द्र मल्ल। त्यसयता नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका छन्।

पहिलो महिला फ्रेन्चाइज

असोज महिनामा नेपाला पहिलो पटक महिला फ्रेन्चाइज टी२० क्रिकेट वुमेन्स च्याम्पियन्स लिग सम्पन्न भयो। कीर्तिपुरस्थित टियू मैदानमा भएको प्रतियोगितामा चितवन राइनोजले उपाधि जितेको थियो।

इमर्जिङ कप

बंगलादेशमा भएको एसिसी इमर्जिङ कप प्रतियोगितामा नेपालको प्रदर्शन उच्च रहन सकेन। प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले समूह चरणमा एक जित र २ हार ब्यहोर्दै बाहिरिन पुग्यो।

प्रतियोगितामा नेपालले समूह हङकङलाई ४० रनले हराएको थियो भने बंगलादेशको यू-२३ टिमसँग ८ विकेट र भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।

सागमा बनेको कीर्तिमान

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य पदक हात पार्‍यो। पुरुष र महिला दुवैतर्फ। सागमा क्रिकेटमा सबैभन्दा स्मरणीय बन्यो अन्जली चन्दको विश्व कीर्तिमान। उनले माल्दिभ्स विरुद्दको खेलमा कुनै रन नखर्ची ६ विकेट लिएर विश्वकीर्तिमान बनाइन्। उक्त खेलमा नेपालले १० विकेटको जित निकालेको थियो।

प्रशिक्षकको राजीनामा

माघ २२ बाट सिरिज शुरु हुने थियो। २० गते बेलुका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएको विषयले चर्चा पायो।

आइसिसीबाट क्यान निलम्वन फुकुवा नहुँदै नियुक्त भएका मुख्य प्रशिक्षक पटवालले यो त्रिकोणात्मक सिरिज सकिएसँगै प्रशिक्षकबाट बाहिरिने निर्णय गरे। त्यसकारण पनि नेपाली टिमको प्रशिक्षकका रुपमा पटवालको यो अन्तिम सिरिज बन्यो।

पटवालको राजीनामाको कारणबारे धेरै चर्चा पनि चलेको थियो। उनी क्यान व्यवस्थापनसँग असन्तुष्ट भएको अड्कलबाजी सँगै ट्याक्सको कुरामा पनि उनी असन्तुष्ट रहेको हल्ला चलेको थियो। पटवाल आँफै भने यस विषयमा खुल्न चाहेनन्। उनले आफू करार अवधि नसकिँदै जानुमा आफ्नो व्यक्तिगत कारण भएको बताएका छन्।

घरेलु मैदानमा पहिलो ओडिआई

नेपालले एक दिवसीय खेल 'ओडिआइ' स्टाटस पाएको दुई वर्ष पुग्यो। सन् २०१८ को मार्चमा ओडिआइ राष्ट्र बनेको नेपालले त्यसपछि नेदरल्यान्डससँग पहिलो सिरिज खेलेको थियो। पहिलो एक दिवसीय सिरिजमा नेपालले बराबरी खेल्यो।

त्यसपछि युएइसँग पनि नेपालले ओडिआइ खेल्यो। तर, घरेलु मैदानमा नै एक दिवसीय खेल खेल्न भने नेपाली क्रिकेट टोलीले २ वर्ष पर्खनु परेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) निलम्वनमा रहँदै नेपाल ओडिआइ नेशन बनेको थियो। निलम्वन फुकुवासँगै पहिलो पटक घरेलु मैदानमा पहिलो ओडिआइ खेल्ने अवसर नेपालले मौका पायो।

माघ २२ गते कीर्तिपुरमा भएको पहिलो खेल नेपाल ओमनसँग पराजित भयो। दोस्रो खेलमा अमेरिका माथि जित निकाल्न नेपाल सफल रह्‍यो। यससँगै घरेलु मैदानमा नेपालले पहिलो ओडिआइ जित हासिल गर्‍यो।

'सशर्त' निलम्वनबाट फुकुवा भएको क्यानले पनि आफूलाई सिरिज आयोजना गरेर प्रमाणीत गर्ने अवसर पायो।

कुशल मल्लको अर्धशतक

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेलले नेपाली मात्र नभएर विदेशी सञ्चारमाध्यममा पनि राम्रै चर्चा पायो। कारण थियो कुशल मल्लले बनाएको कीर्तिमानी अर्धशतक।

मल्लले ५१ बलमा ५० रन बनाउँदै नेपालको खस्कँदो पारीलाई त सम्हालेका थिए। यससँगै उनी ओडिआइ इतिहासमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने। त्यो पनि डेभ्यु खेलमै।

अझ रोचक त यो छ भने रोहित पौडेलको स्थानमा आएका मल्लले पौडेलकै रेकर्ड तोडेका थिए। मल्‍लले ५० रन बनाउँदा आफ्नो ब्याट दर्शक सामु उठाएनन्। कारण थियो – खेलमा अझै ठूलो स्कोर बनाउने महत्वकांक्षा। उनको त्यही अर्धशतकले नेपाललाई जित दिलाउन सफल भयो।

रोहित पौडेलले १६ वर्ष १ सय ४६ दिनको हुँदा बनाएको ओडिआइ रेकर्ड कुशल मल्लले १५ वर्ष ३ सय ४० दिनको उमेरमा तोडे। रोहितले युएई विरुद्धको खेलमा यो रेकर्ड बनाएका थिए।

कीर्तिमानी जित

सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पार्‍यो। ३५ रनको सानो स्कोरमा अमेरिकालाई समेट्न सन्दीप लामिछानेले ६ विकेट र सुशन भारीले ४ विकेट लिए। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा पनि यसले राम्रै चर्चा पायो।

नेपालले १२ ओभरमा नै अमेरिकालाई ३५ रनमा रोकेपछि अमेरिकाले १६ वर्ष अगाडी बनेको रेकर्डको बराबरी गर्‍यो। सन् २००४ अप्रिल २५ मा हरारेमा भएको एकदिवसीय खेलमा श्रीलंकाले जिम्बाबवेलाई ३५ रनमा नै रोक्न सफल भएको थियो। १८ ओभरको चलेको खेलमा बनेको उक्त रन हालसम्मकै सानो योगफल थियो।

यस्तै, अमेरिकालाई १२ ओभरमा मात्रै ३५ रनमा रोक्दा नेपालले एक दिवसीय क्रिकेटमा विपक्षी टोलीमाथि सबै भन्दा कम ओभर बलिङ गरेको थियो। सन् २०१७, २६ फेब्रुअरीमा अफगानिस्तानले जिम्बाबवे विरुद्ध सबै भन्दा कम ओभर बलिङ गरेको थियो। अफगानिस्तानले १३.५ ओभर बलिङ गर्दै जिम्बाबवेलाई ५४ रनमा नै रोक्न सफल भएको थियो।

इस्टर्न रिजन

विश्वभरर कोरोनाको कहर शुरु भइसकेपछि नेपाली क्रिकेट टिमले सहभागिता जनाएको पछिल्लो प्रतियोगिता हो एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता। प्रतियोगितामा च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्यान्ड पुगेको नेपाली टोली फितलो प्रदर्शन गर्दै चौथो स्थानमा चित्त बुझाएको थियो। प्रतियोगितामा थाइल्यान्डमाथि जित निकालेको नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो। त्यस्तै अन्तिम खेलमा सिंगापुरसँग वर्षाका कारण खेल रद्द भएको थियो।

कोरोनाका कहर

कोरोनाले विश्व क्रिकेटलाई नै प्रभावित पारिरहँदा नेपाली क्रिकेट अछुतो रहन सकेको छैन। राष्ट्रिय खेलकुद परिषदको निर्देशन बमोजित क्यानले सम्पूर्ण खेल गतिविधिहरु स्थगित गरेको छ। मोटामोटी रुपमा कोरोनाले नेपाली क्रिकेटमा प्रभाव पारेका मुख्य दुई क्षेत्रहरु हुन्, एभरेस्ट प्रिमियर लिग (इपिएल) र नामिविया सिरिज।

चैत १ गतेबाट शुरुहुने भनिएको इपिएलले साग पछिदेखि नै चर्चा बटुलेको थियो। जसको कारण हो इपिएलमा भित्र्याउन चाहेका विदेशी खेलाडी। क्रिस गेल, मोहम्म सेहेजाद, ड्वेन स्मिथ लगायतका विश्व क्रिकेटका चर्चित क्रिकेटर भित्र्याएको इपिएल निर्धारित मितिमा आयोजना हुन सकेन। जसको मुख्य कारक बन्यो कोरोना।

त्यस्तै नेपालले नामिबियामा खेल्ने भनिएको एक दिवसीय सिरीज स्थगित भएको छ। कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित हुन पुग्यो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरेसँगै नेपालले खेल्ने सिरिज पनि प्रभावित बनेको हो।

प्रशिक्षकको खोजी

कोरोनाले खेल प्रभावित बनेसँगै क्यान अहिले नयाँ प्रशिक्षक भित्र्याउने कसरथमा छ। ओमन र अमेरिकासँगको सिरिजसँगै प्रशिक्षकबाट उमेश पटवालले राजीनामा दिएसँगै नयाँ प्रशिक्षक भित्र्याउने कसरथमा क्यान लागेको छ। पटवालको राजिनामा पछिको एसिसी इस्टर्न रिजन प्रतियोगितामा जगत टमाटाले मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell