PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

होसियार ! कोभिड -१९ को संकटमा साइबर फिसिङको सिकार बन्नुहोला



विधुर ढकाल

होसियार ! कोभिड -१९ को संकटमा साइबर फिसिङको सिकार बन्नुहोला

काठमाडौं : कोभिड -१९ को विषयमा जानकारी गराउन भन्दै इमेल वा ह्वाट्स एपमा सन्देश आएको छ? यदि आएका छन् भने तपाईँ साइबर फिसिङको सिकार बन्दै हुनुहुन्छ! सचेत हुनुस्।

विश्वभर कोभिड-१९ महाव्याधि फैलिँदै गर्दा सामाजिक सञ्जालमा 'फेक न्युज'सँगै गलत सूचना आइरहेका छन्। यस्तैमा सामाजिक सञ्जाल तथा इमेलको प्रयोग ह्याकरहरूले पनि गर्न थालेका छन्। ह्याकर तथा साइबर स्क्यामरहरुले कोभिड-१९ को महाव्याधिको फाइदा उठाउँदै विश्व स्वास्थ्य संगठनको नाम लिएर सर्वसाधारणलाई ठगिरहेका छन्। यसतर्फ सचेत हुन विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ।

इमेल तथा ह्वाट्स एपमार्फत कपटपूर्ण सन्देश प्रेषित गरी सूचना चोरी गर्दै आएको डब्लुएचओले जनाएको छ।

'यस्ता गतिविधिले तपाईँको युजर नेम र पासवर्ड पत्ता लगाउँदै तपाईँका पैसा र संवेदनशील सूचनासमेत चोरी हुन सक्छन्,' डब्लुएचओले जनाएको छ।

कसरी हुने सचेत?

यदि तपाईँलाई यस्ता कुनै सन्देश आएका छन् भने जवाफ दिनुअघि पठाउनेको विश्वसनीयता जाँच गर्नुहोस्। यदि डब्लुएचओले सन्देश पठाए युजर नेम र पासवर्ड माग्दैन। यदि युजर नेम र पासवर्ड मागेको छ भने बुझ्नुस् तपाईँ ठगिँदै हुनुहुन्छ।

त्यस्तै डब्लुएचओले तपाईँले नमागेसम्म कुनै पनि फाइल अट्याच गर्दैन। विश्व स्वास्थ्य संगठनले दिने लिङ्क डब्लुएचओको आधिकारिक वेबसाइट बाहेक बाहिरको हुँदैन। त्यस्तै डब्लुएचओले कुनै जागिर, सम्मेलनमा सहभागिताका लागि कुनै पनि शुल्क लिँदैन। त्यस्तै डब्लुएचओले कुनै पनि त्यस्तो लट्री, पुरस्कार चिट्टा, ग्रान्ट, पमाणपत्र जारी गर्दैन। त्यस्तै यसले इमेलमार्फत लगानीसमेत गर्दैन।

डब्लुएचओले विश्वव्यापी सहयोगको आह्वान गरे पनि ठगी गर्ने नियतले यस्तो कोषको नाम दिएर पैसा संकलन गर्नेसँग पनि सचेत हुन आह्वान गरेको छ।

डब्लुएचओले कोभिड-१९ सोलिडारिटी रेस्पोन्स फन्डमा सहयोगको लागि आह्वान गरेको छ। तर सामाजिक सञ्जाल र इमेलबाट नभई डब्लुएचओको आधिकारिक वेबसाइटबाट।

त्यस्ता इमेल, वेबसाइट, फोन कल, टेक्स्ट म्यासेज अथवा फ्याक्सदेखि सावधान हुनुस्। तपाईँले सहजै छुट्ट्याउन सक्नुहुन्छ त्यस्ता सन्देशको आधिकारिकता। सामाजिक सञ्जालबाट हुने 'फिसिङ'बाट सतर्क हुन समेत डब्लुएचओले आह्वान गरेको छ।

तपाईँलाई डब्लुएचओबाटै आएको जस्तै गरी इमेल आउन सक्छ। तपाईँको सूचना मागिन्छ। मालिसियस लिङ्क क्लिक गर्न भनिन्छ अथवा मालिसियस अट्याचमेन्ट खोल्न लगाइन्छ। यस्तो तरिका अपनाएर फिसरहरुले तपाईँको संरचना चोर्नुका साथै पैसासमेत चोर्न सक्छन्।

फिसिङबाट कसरी बच्ने?

तपाईँले इमेल पठाउनेको इमेल ठेगान चेक गर्नुहोस्। डब्लुएचओबाट आउने इमेल पठाउनेको ठेगाना ‘[email protected]’यदि ‘@’ पछि ‘who.int’ छैन भने बुझ्नुस् तपाईँलाई इमेल पठाउने डब्लुएचओसँग सम्बन्धित छैन।

तपाईँलाई पठाइएको इमेलमा दिइएको लिङ्क ‘https://www.who.int’ छ कि छैन चेक गर्नुहोस्। यदि छैन भने त्यो आधिकारिक होइन। किनकि डब्लुएचओले इमेलमार्फत अरू वेबसाइटको लिङ्क सेयर गर्दैन। डब्लुएचओले यसरी पठाउने लिङ्कभन्दा पनि ‘https://www.who.int’ मा गएर नेभिगेट गर्न सुझाव दिएको छ।

डब्लुएचओले कोभिड-१९ को विषयमा आउने सूचनालाई हतारमा प्रतिक्रिया नदिन आह्वान गरेको छ। 'साइबर अपराधीहरूले कोभिड-१९ जस्ता महाव्याधिको समयलाई अवसरको रूपमा लिन्छन्। मानिसहरूले यस विषयमा छिटो निर्णय गर्ने गर्छन्,'डब्लुएचओले भनेको छ, 'कुनै पनि विषयमा निर्णय लिँदा वा तपाईँको आफ्नो बारेमा विवरण भर्दा हतार नगर्नुहोस्।'

यदि तपाईँले त्यस्ता सूचना दिनभयो भने शीघ्र आफ्ना विवरण परिवर्तन गर्नुहोस्। र त्यस्ता विवरणलाई रिपोर्ट गर्नुहोस्। डब्लुएचओको नाम लिएर गरिने साइबर अपराधबारे तपाईँले यहाँ क्लिक गरेर रिपोर्ट गर्न सक्नुहुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell