PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोरोना उपचार केन्द्र तोकिएपछि बिरामी आउन छाडे, अस्पतालका प्रमुख भन्छन् : उपकरण नआएसम्म कोरोनाका बिरामी लिन सकिन्नँ



फूलमाया पुरी

कोरोना उपचार केन्द्र तोकिएपछि बिरामी आउन छाडे, अस्पतालका प्रमुख भन्छन् : उपकरण नआएसम्म कोरोनाका बिरामी लिन सकिन्नँ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हातामा छ आयुर्वेद अनुसन्धान केन्द्र। केन्द्रको गेटमा उभिएका छन् सुरक्षा गार्ड। थर्मल गन लिएर बसेका उनले हामी भित्र जानुअघि ज्वरो नापे।

'नर्मलै छ, जानुस्। अनि उ त्यहाँ पानी छ, हात धोएर जानुस् है,' सुरक्षा गार्डले अगाडि देब्रेतिर एक छेउमा राखिएको हरियो पानीको ट्याङ्की देखाए। थोरै ह्यान्डवास पनि हालिदिए हातमा।

हात धोयौँ र अस्पतालतर्फ अघि बढ्यौँ हामी। सरकारले केन्द्रलाई कोरोना उपचारको लागि डेडिकेटेड अस्पताल तोकेको छ। अस्पतालमा बिरामी कति आउँछन् र परीक्षण र उपचार प्रक्रिया कसरी चलिरहेको छ? चासो हाम्रो यही विषयमा थियो।

अस्पतालको मुख्य भवनभित्र पस्ने ढोकाको सिँढीमा केही गफिँदै रहेछन्। उनीहरू अनौपचारिक पोसाकमा भएकाले हामीले सोच्यौँ: बिरामीका आफन्त हुन्। अस्पतालमा कोरोनाको उपचारबारे बुझ्न आएको भनी एक जनासँग सोधिहाल्यौँ।

‘बिरामी कोही आएका छैनन्। अस्पताल पूरै खाली छ’ सामूहिक जवाफ फर्काए उनीहरूले। उनीहरू यहीँका स्वास्थ्यकर्मी रहेछन्।

भित्र अस्पतालको फार्मेसी खुल्ला देखिन्थ्यो। एक जना नर्स त्यसकै छेउमा बसिरहेकी थिइन्। केही पर आफ्नै धुनमा गफिँदै थिए एकजोडी नर्स। हामीले अस्पताल खाली हुनुको कारण खोज्नतिर लाग्यौ।

‘अस्पतालमा चाहिने सामाग्री आएको छैन। आज पनि स्वास्थ्य मन्त्रालयबाट भिजिट गर्न टोली आएर गइसक्नुभयो,’ एक स्वास्थ्यकर्मीले भने।

‘यस अस्पतालमा ल्याउने सामान चाइनाबाट आउनुपर्छ रे। त्यसैले ढिला भएको भन्ने सुनेको,’ नर्स दुर्गादेवी शर्माले थपिन्।

त्यसो भए बिरामी एक जना पनि आइपुगेका छैनन् यता?

हाम्रो प्रश्नको जवाफमा शर्माले उत्तर फर्काइन्, ‘अहिले त हामी कर्मचारी मात्रै छौँ। अरू कोही छैनन्। भएका बिरामी पनि सबै डिस्चार्ज भइसके।’

डेडिकेटेड अस्पताल तोकिए पनि केन्द्रमा कोरोना भाइरससँग सम्बन्धित उपचार हुने अन्य पाटन टेकु लगायतका अस्पतालमा जस्तो फिभर क्लिनिक पनि छैन रहेछ। फिभर क्लिनिकबारे जिज्ञासा राख्दा शर्माले भनिन्, ‘आयुर्वेदिक उपचार मात्रै हुने भएकाले अन्य रोगका बिरामी यहाँ आउँदैनन्। फेरि यहाँ कोरोनाका उपचारका लागि केही निर्देशन आइसकेको छैन।'

जब सरकारले केन्द्रलाई कोरोना उपचारका लागि तोक्यो त्यसबेलादेखि नै बिरामीको संख्या ह्वात्तै घटेको निर्देशक डा. रामअधार यादवले बताए। कोरोना उपचार हुने भनेपछि अस्पतालमा भएका सबै बिरामीलाई १५ दिनअघि नै डिस्चार्ज गरिएको उनले जानकारी दिए।

‘लकडाउनसँगै कोरोनाका डरकै कारण आयुर्वेद उपचार गर्न पनि नयाँ बिरामी आएका छैनन्,’ उनले भने।

कोरोनाको उपचार हुने समाचार बाहिर आएदेखि नै बिरामीहरू अत्यावश्यक अवस्थामा पनि डाक्टरलाई फोन गरेर मात्रै आउने गरेको उनले बताए। उनले यसलाई आम मानिसमा ‘मिडियाको प्रभाव’ परेकोसम्म भन्न भ्याए।

निर्देशक यादवका अनुसार सरकारले केन्द्रलाई कोरोना उपचारका लागि डेडिकेटेड गरेको छ। जहाँ आइसियु वार्ड बनाउने स्वास्थ्य मन्त्रालयको योजना रहेको छ। त्यसैले १५ दिनदेखि अस्पताल पूरै खाली गरिएको छ।

तर, आइसियु सञ्चालनका लागि भने आवश्यक उपकरण अझै उपलब्ध गराउन सकेको छैन।

कहिले देखि सञ्चालनमा आउँछ त?

‘केन्द्रले पहिलेदेखि नै २५ बेडको अस्पताल चलाउँदै आएको थियो। तर आइसियु वार्डका लागि आवश्यक उपकरण पनि उतैबाट आउने हुँदा उपचार कहिलेबाट सुरु हुन्छ यकिन गर्न सकिँदैन,’ निर्देशक यादवले बताए।

उनले अन्य अस्पतालमा व्यवस्था गरिसकेपछि मात्र अन्तिम विकल्पको रूपमा केन्द्रलाई प्रयोग गरिने स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको पनि बताए।

त्यसो त केन्द्रले आयुर्वेदिक उपचार गर्न आउने बिरामीको अपरेसनदेखि औषधिलगायतका सेवा उपलब्ध गराउने गरेको थियो।

केन्द्रमा इमर्जेन्सी अवस्थाबाहेकका सम्पूर्ण सेवा बन्द जस्तै भएको निर्देशक यादवले गुनासो गरे। उनले भने, ‘हामी चिकित्सक त आइरहेका छौँ ओपिडी सेवा पनि खोलेकै छौँ तर बिरामी आउँदैनन्। जब मिडियामा अस्पतालमा कोरोना उपचार हुने भन्ने समाचार आयो। त्यसकै असरले पनि बिरामी आउन छाडे।'

केन्द्रमा अहिले लकडाउनपछि कोही पुराना बिरामी फलोअपका लागि आउँछन्। केही औषधिका लागि मात्र आइरहेका छन्।

अझै उपकरण छैन

सरकारले उपचार केन्द्र तोके पनि हालसम्म उपकरण लगिएको छैन। केन्द्रका निर्देशक यादवले भने, ‘हामी त सरकारको निर्देशनमा चल्ने हो। अस्पताल पुरै खाली गरेका छौँ। आइसियुका लागि सम्पूर्ण उपकरण उतैबाट आउने जानकारी आएको हुँदा त्यसैको पर्खाइमा छौँ।’

अस्पतालमा पहिलेदेखि नै अपरेसन वार्डसम्म सञ्चालन गर्दै आएकाले सामान्य मास्क, गाउनजस्ता सामाग्रीको व्यवस्था भने छ। कोरोना संक्रमितको उपचारका लागि केन्द्रका कर्मचारी मानसिक र शारीरिक रूपमै तयारी अवस्थामा रहेको निर्देशक यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell