
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको १८ दिन पूरा भइसकेको छ।
मानिसलाई घरभित्र नै बस्न आग्रह गरिएको छ। तर, पनि लकडाउनको उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किन भने छोडेका छैनन्।
यसरी लकडाउन उल्लङ्घन गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ। शनिवार बिहानै पनि उपत्यका भित्रबाट १२ सय ६६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा ९ सय २४ जना पुरुष र ३ सय ४२ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ।
नियन्त्रणमा आउनेहरु अधिकांश काठमाडौंका रहेका छन्। नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाएको होल्डिङ एरियाममा तीन घण्टा राखेर फर्काउने गरिन्छ।
नियम उल्लङ्घन गरेर चलाएका ९८ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न बहानमा चलाएका सवारी नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। प्रहरी अत्यआवश्यक कामको लागि प्रहरीलाई फोनमा जानकारी दिएर सवारी चलाए सहज रुपमा हिड्ने व्यवस्था गरिदिने जानकारी दिएको छ।