PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मुलुकतिर हेर्दाहेर्दै पुग्न लाग्यो १४ दिन, तर चिन्ता चाहिँ उही : के क्वारेन्टाइन पूरा भएपछि देश छिर्न देलान्?



कमलराज भट्ट

मुलुकतिर हेर्दाहेर्दै पुग्न लाग्यो १४ दिन, तर चिन्ता चाहिँ उही : के क्वारेन्टाइन पूरा भएपछि देश छिर्न देलान्?

काठमाडौं : आफ्नो मुलुकतिर टुलुटुल हेरेर बस्न थालेको पनि अब दुई साता पुग्नै लागेको छ। कोभिड – १९ को संक्रमण भए नभएको पहिचान हुन प्रारम्भिक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ। आउँदो आइतबार १४ दिन पनि पूरा हुँदैछ। त्यसैले उनीहरु नेपालतिर हेरिरहेका छन्।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा छ धारचुला नगर पञ्चायत। त्यहाँबाट चर्को गरी चिच्याउने हो भने नेपालतिरको विशाल पहाडमा ठोक्किन्छ र उतै फर्केको सुनिन्छ आवाज। दुवैतिर अग्ला पहाडबीचको बगरमा दुई देशको आ-आफ्नै शहर धारचुला र दार्चुला। दुई देशलाई महाकाली नदीले कित्ताकाट गरेको छ। र, त्यही महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलमा ताल्चा लागेको १४ दिन हुनै लागेको छ जुन नेपाल छिर्ने एकमात्र विकल्प। ‘क्वारेन्टाइन’ पूरा हुन लागेकोमा नेपालीहरु जति खुशी छन्, त्यति नै सशंकित – अब पनि आफ्नो माटोमा टेक्न नपाइने त होइन?

विश्व नै कोभिड १९ को महामारीबाट त्रसित छ। भारत संक्रमणको उदाउँदो अवस्थातिर गइरहेको छ। त्यहीबाट देश फर्किन खोजेकाले महाकाली पारी नै छन् उनीहरु। अनायक अनागरिक भएका उनीहरु अर्थात्, न देशका न विदेशका।

कोरोना फैलिन नदिन नेपाल र भारत दुवैतिर तीन हप्ते लकडाउन छ। खुला सीमाले जति सहजै उनीहरुलाई भारत जान सके, कोरोनाको कहरले ठीक उल्टो भयो अवस्था। मजदुरीका लागि पुगेकाहरु लकडाउनसँगै हिँड्दै महाकालीको किनारसम्म त आइपुगे तर त्यहाँबाट देश फर्किन सकेनन्। सिंहदरबारको रवैयाले आक्रोशित उनीहरु भारतीय भूमिमै रहेर देशविरुद्ध नारावाजी गरिरहे। त्यसपछिमात्रै उनीहरुको भाग भारतीय भूमिमै मिल्यो सेल्टर र गाँस।

नेपाली प्रशासनले भारतीय प्रशासन गुहार्‍यो, 'नेपालीलाई त्यतै क्वारेन्टाइनमा राखिदेउ।' नेपाली प्रशासनको आग्रह मान्दै नेपालीलाई क्वारेन्टाइनमा राखिदियो भारतले। तर, क्वारेन्टाइन नाम मात्रकै। एकै कोठामा ३० जनासम्म भेडाबाख्रा खाँदेजसरी राखियो। केही नेपाली त कुटिए पनि।

यतिखेर भारतले खानबस्नका साथै उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ। भारतीय सञ्चारमाध्यमको रिपोर्ट अनुसार परीक्षणमा नेपाली स्वस्थ देखिएका छन् र कोरोनाको कुनै लक्षण देखिएको छैन। नेपाली भूमिमै क्वारेन्टाइनमा बस्न चाहे पनि उनीहरु बाध्यात्मक रुपमा पारी नै रहिरहे।

सीमामा अलपत्र नेपालीहरुको बारम्बारको याचना र पीडाबारे मिडियामा लगातार खबर आइरहेपछि शीर्ष तहका नेता सक्रिय भए। चौतर्फी दबाबपछि सरकारले १४ दिन क्वारेन्टाइन राखेरमात्र देश फर्काउन तयार भयो।

गत बिहीवार (चैत २०) बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल आवतजावत खुला नगर्ने र सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र ल्याउने निर्णय गर्‍यो। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल-भारत सीमामा रहेकाहरुलाई अप्ठ्यारो पर्न नदिने गरी दुवै तर्फबाट आपसमा सहयोगका साथ सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको जानकारी गराए।

यस्तो निर्णयको ५ दिनपछि चैत २५ गते सर्वौच्च अदालतले सीमामा अलपत्र नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन आदेश दिएको छ। साथै, तत्काल नेपाल प्रवेश सम्भव नभए कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न पनि अतिरिक्त आदेश पनि दिएको छ।

सर्वोच्चले आदेश दिएको पनि चार दिन बितिसकेको छ। तर, सरकारले आदेश कार्यान्वयनका लागि कुनै कदम चालेको छैन। सरकार अतिरिक्त आदेशलाई बल पुग्नेगरी भारतीयसँग समन्वय गरी भारतमै क्वारेन्टाइनमा राख्न भने सफल भएको छ। तर, नेपालीलाई क्वारेन्टाइनपछि फर्काउने विषयमा कुनै तयारी भने गरेको छैन।

सबैभन्दा धेरै नेपाली नागरिक अलपत्र परेको सीमा जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमानाका खोल्ने र नेपाली फर्काउने विषयमा ‘माथि’बाट कुनै जानकारी नआएको बताए।

'मैले अब के गर्ने भनेर गृह मन्त्रालयमा सोधेको थिएँ। छलफलमा छौं, कुरा हुँदैछ भन्ने जवाफ आएको छ। माथिबाट जे डिसिजन हुन्छ, त्यसैअनुसार अघि बढ्छौं,' उनले भने। उनी पनि काठमाडौंतिरै जवाफको अपेक्षा राखेर पर्खिरहेका छन्। तर, यता अझै त्यसबारे केही तयारी भएको छैन।

पौडेलका अनुसार पिथौरागढ र धारचुलामा रहेका ठूला कलेज र विद्यालयमा ६ वटा क्याम्प बनाएर नेपालीहरुलाई राखिएको छ। १ हजार ६० जनाभन्दा बढी नेपाली त्यहाँ छन्। क्वारेन्टाइनमा नेपालीको संख्या थपिने क्रम रोकिएको छैन।

महाकाली तरेर आएका नेपालीलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका हुन्। नेपालभित्र भने ३४ वटा क्वारेन्टाइनमा २ सय ५० जनालाई राखिएको छ। दार्चुलामा ८ सय जनालाई क्वारेन्टाइनमा राख्न सक्ने क्षमता छ।

तर, परीक्षणको नामो निसान छैन। ज्वरो जाँच्ने यन्त्रबाहेक अरु केही भित्रिएको छैन। यहाँ कोरोना परीक्षण गर्ने किटको प्रयोग थालिएकै छैन। बाहिरबाट आएको संख्या मात्रै १ हजार ४ सय छ जिल्लामा। केन्द्रबाट परीक्षण टोली पनि आएको छैन।

'माथि कुरो पुर्‍याएका छौं। अब होला नि,' सिडिओ पौडेलले भने, 'पालो आउँला नि। टाढा भएकाले ढिलो भयो कि?'

सुदूर पश्चिम प्रदेशकै कञ्चनपुरसँग सीमा जोडिएको भारतको बनबासा र टनकपुरमा पनि नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। त्यहाँ दुई ठाउँमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा छन्। उनीहरु बसेको पनि १४ दिन पुग्न लागेको छ। तर, जिल्ला प्रशासन कार्यालयसँगै गड्डाचौकी नाका खोल्ने कुनै योजना छैन।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सीमापारी क्वारेन्टाइनमा बसेका नेपाली फिर्ता ल्याउने कुनै योजना नभएको बताए।

'माथिबाट निर्णय गरेर पठाएअनुसार गर्छौं। निर्णय नआई यसो गर्छौं भन्न मिलेन। गर्न पनि सक्दैनौं,' उनले भने।

भारतबाट आएका एक जनामा संक्रमण देखिएको कञ्चपुरमा भएका अन्य परीक्षणले कोभिड १९ पोजेटिभ देखाएको छैन। 'आएका अधिकांशको परीक्षण गरिसकेका छौं। धेरैभन्दा धेरै परीक्षण भइरहेको छ। कसैमा पनि कुनै खालको लक्षण देखिएको छैन,' सिडिओ खतिवडाले कञ्चनपुरको अवस्था बताए।

गृह मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव उमाकान्त अधिकारीले भारतीय क्वारेन्टाइनमा नेपाली ल्याउने निर्णय उच्चस्तरीय समितिले नै गर्ने जानकारी दिए। गृहले सो निर्णयलाई कार्यान्वयन मात्र गर्ने उनको भनाई छ।

'कसरी ल्याउने? नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने कि सिधै घर पठाउने? नेपालमा फसेका भारतीयको कुरा पनि छ। यसबारे सबै छलफल भएपछि निचोड आउँला,' उनले भने, 'माथिको निर्णयविना हामीले केही गर्दनौं। गृहले उच्चस्तरीय समितिका निर्णयलाई कार्यान्वयन गर्न सघाउने हो। निर्णय गर्ने होइन।'

कोरोना रोकथाम उच्चस्तरीय समितिका सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सीमामा अलपत्र नेपाली ल्याउनेबारे कुनै निर्णय नभएको सुनाए।

'१४ दिन पूरा गरेपछि आउन दिनुपर्छ भन्ने मेरो धारणा हो। समितिमा कुरा उठाएको छु। तर, अहिलेसम्म कुनै निर्णय भएको छैन। अब होला,' उनले भने, 'एउटा मापदण्ड बनाएर १४ दिन पूरा गरिसकेकालाई ल्याउनुपर्छ।'

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा सीमापारि भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुका विषयमा त्यहाँ राख्नुको विकल्प सरकारसँग छैन भनेका थिए।

शुक्रवारमात्र ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सीमामा अलपत्र नेपालीको राम्रो हेरचाह गरिदिन अनुरोध गरेका छन्। एकातिर भारतीय क्वारेन्टाइनमा नेपालीहरुको १४ दिन पुग्नै लाग्दा पनि उच्चस्तरीय समितिले कुनै निर्णय नगर्नु र अर्कोतिर प्रधानमन्त्रीले भारतलाई राम्रो हेरचाह गरिदिन आग्रह गर्नुले त्यहाँ फसेका नेपालीहरु आफ्नो मुलुकतिर निरिह भएर टुलुटुलु हेर्न बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell