PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

क्वारेन्टाइन अभियान नाट्य महोत्सवको अन्तिम दिन : ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइने



पहिलोपोस्ट

क्वारेन्टाइन अभियान नाट्य महोत्सवको अन्तिम दिन : ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइने

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०२०’ को सोह्रौं दिन अर्थात् अन्तिम दिन – आज दुई नाटक प्रसारण हुने भएका छन्। नाटकहरु ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइन लागेको हो।

कर्णली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’लाई हिरा बिजुली नेपालीले लेखेका साथै निर्देशन गरेका हुन्। परम्पराले निम्त्याएको समाजिक विकृति, महिला र दलितहरुमाथिको विभेद र दमन नाटकको केन्द्रमा छ।

नाटककमा विष्णुमाया परियार, गोविन्द सुनार, गणेशबहादुर खड्का, राज मल्ल, हिरा बिजुली नेपाली, जसुल्ली नेपाली, सुशिला रावल, अर्जुन परियार, दीपन्द्र नेपाली, भिमबहादुर बिक, हेमराज बिक, रामु बिक, जन्मलक्ष्मी हमाल, उजेली खड्का, खामु बिक, औसिमा परियार लगायतको अभिनय रहेको छ।

नाटकको भिडियो दिउसो एक बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्पत् प्रसारण हुनेछ।

त्यस्तै साँझ पाँच बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लैलै’ देखाइने छ। नाटकलाई मोर्टन क्रोगले निर्देशन गरेका हुन्।

समयसँगै मानिसको सिकाइ र भोगाइहरु बद्लिँदै जान्छन्। कुनै विषयलाई सोच्ने र हेर्ने तरिकाहरु पनि उस्तै रहँदैनन् किनकि मानिसले निभाउनु पर्ने भूमिका र जिम्मेवारीहरु पनि समयसँगै फेरिन्छन्। स्वतन्त्रताको घेरा साँघुरिँदै जान्छ। तर प्रेम र मित्रता उस्तै रहन सक्छ भलै उनीहरुसँगका हरेक अनुभूति मीठा नहुन सक्छन्। यसै विषयमा केन्द्रित छ नाटक।

नाटकमा भोलाराज सापकोटा, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, सरिता गिरी, कर्मा, राजकुमार पुडासैनी, समुना केसी लगायत कलाकारको अभिनय रहेको छ। .

यी दुई नाटक प्रसारणसँगै दुई साता लामो भर्चुअल नाट्य महोत्सवको समापन हुन्छ। यस महोत्सव विश्व रङ्गमञ्च दिवसको अवसरमा सुरु गरिएको थियो। विश्व माहामारीको त्रासमा रहेका बेला अधिकांश देशका नाटकघर एवं कला केन्द्रहरु बन्द छन्। कला, अभिनय प्रेमी दर्शकहरु घरमै छन्। यस्तो अवस्थामा रङ्गमञ्च र दर्शकलाई सम्पर्कमा राख्ने उद्देश्यले सुरु गरिएको थियो यस क्वारेन्टाइन अभियान नाट्य महोत्सव।

नाटकलाई थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको हो। महोत्सवमा नेपाल, भारत, जर्मनीका फरक नाटकहरु प्रसारण भए। 

सम्बन्धित सामाग्री : कर्णालीको कथा काठमाडौंमा: नाटक 'गर्भ छिटा' 

आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell