
काठमाडौं: भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन ३० अप्रिलसम्म बढाउन माग गरिएको छ। पछिल्लो १२ घण्टामा भारतमा ५ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। मर्नेको संख्या पनि दिनहुँ बढिरहेको छ।
यस्तो बेला शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरे। भिडियो कन्फ्रेन्समा भएको छलफलमा मुख्मन्त्रीहरुले लकडाउन ३० अप्रिलसम्म बढाउन प्रस्ताव गरेका हुन्। भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो।
लकडाउनको समय सकिनै लाग्दा मुख्यमन्त्रीहरुले थप्न आग्रह गरेका हुन्। राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भिडियो कन्फ्रेन्समा ३० अप्रिलसम्म लकडाउन बढाउन प्रधानमन्त्री मोदीलाई आग्रह गरेको पीटीआईले जनाएको छ।
त्यसैगरी पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पनि लकडाउन बढाउने प्रस्तावमा समर्थन जनाएका छन्। उनले पञ्जाबमा मे महिनाको १ गतेसम्म लकडाउन बढाउने निर्णय गत बिहीबार नै भइसकेको जानकारी गराए।
ओडिशामा पनि यसअघि नै लकडाउन बढाउने निर्णय भइसकेको छ।
मुख्यमन्त्री सिंहले परीक्षणको सुविधा बढाउन पनि माग गरे। साथै गरिब र किसानलाई सहयोग बढाउनुपर्ने उनको माग थियो।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईंमा रणनीति बनाउन मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरेका हुन्।
भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।