PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

सांसद विकास कोषको रकम कोभिड-१९ कोषमा राख्न नेकपा प्रवक्ताको माग, विपक्षी दलसँग छलफल गर्न सरकारलाई सुझाव



पहिलोपोस्ट

सांसद विकास कोषको रकम कोभिड-१९ कोषमा राख्न नेकपा प्रवक्ताको माग, विपक्षी दलसँग छलफल गर्न सरकारलाई सुझाव
फोटो : रासस।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोभिड-१९ कोषमा राख्न सुझाव दिएका छन्। प्रवक्ता श्रेष्ठले शनिवार ट्विटमार्फत सांसद विकास कोष अनुचित रहेको उल्लेख गर्दै अब सांसद विकास कोष शीर्षकमा बजेट नराख्न समेत माग गरेका छन्।

उनले उक्त शीर्षकमा बजेट नराख्ने निर्णय छिट्टै गर्न पनि भनेका छन्।

उनले लेखेका छन्, ‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ। अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं।’

 

लगत्तै श्रेष्ठले अर्को ट्वीट गर्दै सरकारले राष्ट्रिय संकटका बेला विपक्षी दलसहित सामाजिक र राजनीतिक शक्तिहरुसँग समन्वय गर्नु आवश्यक रहेको बताएका छन्। उनले  उच्चस्तरीय संयन्त्रले पहिले बैठक राखेको स्मरण गर्दै यसलाई निरन्तरता दिन सरकारलाई उनको सुझाव छ।

‘वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दललगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक छ’, उनले भनेका छन्, ‘त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपयुक्त हुन्छ, सुझाव लिन र निर्णयहरुको औपचारिक जानकारी लिन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell