
काठमान्डौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदोशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सबाट सम्वाद गरेका छन्। बिहान ११:३० बजेदेखि अपरान्ह ३:४० बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अन्तर्क्रिया भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि गरिएका प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। ओलीले प्रयास सकारात्मक रहेको भए पनि अझ समन्वयात्मक ढंगले अघि बढ्न निर्देशन दिएका छन्।
उनले सरकार प्रभावकारी र सफल रूपमा काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन मुख्यमन्त्रीलाई आग्रह गरे। उनले कोरोना संक्रमण नियन्त्रण गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने दाबी मुख्यमन्त्रीहरुसँग दाबी गरे।
मुख्यमन्त्रीहरुसँगको अन्तर्क्रियामा प्रधानमन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने भएकाले लापरबाही स्वीकार्य नहुने बताए। संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको ओलीको भनाइ थियो।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।
'उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नुहुँदै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको स्पष्ट पार्नुभयो', थापाले भने।
मेला लाग्ने, मान्छे जम्मा हुने जस्ता क्रियाकलाप रोक्न स्थानीय प्रशासन सजग हुनुपर्ने प्रधानमन्त्रीले बताए। एकरूपताको लागि केन्द्रले परिपत्र जारी गर्ने पनि उनले बताए।