PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बढाइँदै कोरोना परीक्षणको दायराः प्रतिदिन सात सयभन्दा बढीको जाँच, २४ घण्टामा ८९७ परीक्षण



पहिलोपोस्ट

बढाइँदै कोरोना परीक्षणको दायराः प्रतिदिन सात सयभन्दा बढीको जाँच, २४ घण्टामा ८९७ परीक्षण

काठमाडौँः शनिबारसम्म कोरोना संक्रमण आशंका गरिएका चार हजार ४२६ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ८९७ जनाको परीक्षण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा वीर अस्पतालमा शनिबारदेखि परीक्षण सुरु भएको छ। आइतबारदेखि टेकुमा पनि सुरु गरिने मन्त्रालयले जनाएको छ।  

हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुल तीन हजार ३९२ को परीक्षण गरिएको छ। २४ घण्टामा ६०९ जनाको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा भएको छ। काठमाडौँ उपत्यकाबाहिर ७४२ को परीक्षण गरिएको छ। उपत्यकाबाहिर २४ घण्टामा २८८ नमूना परीक्षण भएको छ। योसँगै नमूना परीक्षण प्रतिदिन सात आठसयको दरले भइरहेको छ। नमूनाको संकलनको संख्या पनि बढेको छ। परीक्षण दायरा पनि बढाइएको छ।

मन्त्रालयका अनुसार आठ हजार ८२ जना देशभर क्वारेन्टाइनमा छन्। ८२ जना आइसोलेसनमा छन्। जसमध्ये १५ जना उपत्यकामा ६७ जना उपत्यकाबाहिर छन्।

तीन दिनदेखि आरडिटी (र्‍यापिड टेस्ट) परीक्षण भइरहेको छ। समुदायमा संक्रमण छ/छैन हेर्नका लागि यसको दायरा बढाइएको छ। विभिन्न जिल्लामा परीक्षण र नतिजा प्राप्त हुने क्रममा रहेको मन्त्रालयको भनाई छ।

स्वयं विवरण भर्नेमध्ये पछिल्लो २४ घण्टामा पाँच जना रेड जोनमा परेका छन्। रेड जोनमा पर्ने कुल संख्या १८९ पुगेको छ। उनीहरुको महाशाखामार्फत टेस्ट भइरहेको छ।

मन्त्रालयका अनुसार दार्चुलामा स्वाब संकलनको काम भइरहेको छ। क्वारेन्टाइनमा बसेका सबैको र्‍यापिड डाइग्नोस्टिक किटबाट टेस्ट गर्ने मन्त्रालयले जनाएको छ।

हाल ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा चार जना धनगढीमा, दुई जना बागलुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था राम्रो रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell