PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

लकडाउन बढाउने प्रधानमन्त्री मोदीको निर्णय उपयुक्त छ: मुख्यमन्त्री केजरीवाल



पहिलोपोस्ट

लकडाउन बढाउने प्रधानमन्त्री मोदीको निर्णय उपयुक्त छ: मुख्यमन्त्री केजरीवाल

काठमाडौं: नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय उपयुक्त भएको बताएका छन्।

देशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री मोदीले शनिबार गरेको भिडियो कन्फ्रेन्समा सहभागी भएलगत्तै केजरीवालले ट्वीटरमार्फत केन्द्र सरकार लकडाउन बढाउने निर्णयमा पुगेको जानकारी दिँदै सो निर्णय सहि भएको उल्लेख गरेका हुन्।

'प्रधानमन्त्रीले लकडाउन बढाएर सहि निर्णय लिनुभएको छ। आज भारतको स्थिति विकसित देशहरू भन्दा राम्रो छ। किनकि हामीले चाँडै लकडाउन सुरु गर्यौं। यदि अहिले लकडाउन रोकियो भने सबै उपलब्धिहरु गुम्नेछन्,' उनले भनेका छन्।

उनले स्थितिलाई थप सुदृढ पार्न लकडाउन बढाउनु महत्वपूर्ण रहेको जनाएका हुन्।

भिडियो कन्फ्रेन्समा केजरीवालले ३० अप्रिलसम्म लकडाउनको समय बढाउन प्रस्ताव गरेका थिए। अन्य मुख्यमन्त्रीले पनि लकडाउन बढाउन सुझाव दिएका थिए। यद्यपि केन्द्र सरकारले आधिकारिक रुपमा लकडाउन थप्ने घोषणा गरेको छैन। 

केन्द्र सरकारभन्दा अगाडि नै सूचना सार्वजनिक गरेकोमा केजरीवालको आलोचनासमेत भइरहेको छ।

भारतमा संक्रमति संख्या र मृत्युदर बढेसँगै केन्द्र सरकारमाथि लकडाउन बढाउन दबाब छ। पञ्जाब र ओडिशा राज्यले भने अप्रिल महिनाभर लकडाउन बढाउने घोषणा गरिसकेका छन्।

भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। लकडाउनको समय सकिनै लाग्दा मुख्यमन्त्रीहरुले आजको भिडियो कन्फ्रेन्समा समय थप्न आग्रह गरेका थिए।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईंमा रणनीति बनाउन मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरेका हुन्।

भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell