
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई नम्बर प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु शाहले कोरोना भाइरसविरुद्धको लडाईंमा प्रदेश सरकार उदासिन देखिएको आरोप लगाएका छन्।
नेता शाहले महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान र दाताको भूमिकामा मात्र सीमित भएको टिप्पणी गरेका छन्।
'गाउँपालिका/नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफू भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराजा शैलीको देखिन्छ,' शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेका छन्।
प्रदेश सरकारले आफूले जिम्मा लिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शून्य रहेको आरोप लगाउँदै शाहले भनेका छन्, 'यो तयारी हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ।'
भारतसँग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सीमाका कारण प्रदेश २ अन्य प्रदेशको तुलनामा बढी जोखिमयुक्त र संवेदनशील रहेको भन्दै शाहले लेखेका छन्, 'तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पीसीआर परीक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले नमूना परीक्षणका लागि आफ्नो तर्फबाट परीक्षणशालाहरु (आरटी-पीसीआर ल्याब) निर्माण गर्न त परै जाओस्, सामान्य यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइ कर्मचारीलाई अहिलेसम्म गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध गराएको छैन।'
बाहिरबाट आएका मानिहको तथ्यांकसमेत नराखेकोमा आक्रोश पोख्दै शाहले अग्रभागमा रहेर काम गर्न ध्यानाकर्षण गराएका छन्। 'के कति मानिसहरू आए? त्यसको सहि पहिचानको कुनै तथ्यांक छैन। यस्तो गैरजिम्मेवार एवं लाचार स्थितिको तुरन्त अन्त्य होस। यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्रभागमा रहेर काम गर्न विशेष आग्रह गर्दछु,' उनले भनेका छन्।
#कोरोना_विरुद्धको_लडाईमा_प्रदेश_२_सरकार_उदासीन महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा...
Posted by Prabhu Sah on Saturday, April 11, 2020