PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज नाका हुँदै ४२ करोडको औषधि आयात



राधेश्याम पटेल

लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज नाका हुँदै ४२ करोडको औषधि आयात

वीरगंज : लकडाउनको पछिल्लो १५ दिनमा वीरगंज भन्सार नाका हुँदै भारतबाट ४२ करोड २४ लाख मूल्य बराबरको औषधि तथा विभिन्न उद्योगको कच्चा पदार्थ नेपाल भित्रिएको छ।

वीरगंज भन्सारका भन्सार अधिकृत रमेश सुकमणीका अनुसार गत मार्च २४ देखि अप्रिल ७ सम्म २ करोड १२ लाख राजश्व तिरेर ४२ करोड २४ लाख ११ हजार मूल्य बराबरको विभिन्न प्रकारका औषधि तथा औषधि उद्योगका कच्चा पदार्थ भित्रिएको छ। भारत सरकारले भारतमा बढ्दै गएको कोरोना संक्रमणलाई लक्षित गरी दर्जनौँ प्रकारका औषधिको निर्यातमा रोक लगाएको थियो। जसको कारण बन्देजमा परेका औषधिहरु सीमा पारी नै होल्ड भएका थिए भने बाँकी औषधि धमाधम नेपाल भित्रिएका थिए।

बन्देजमा परेका औषधिमा पारासिटामोल, अरनिन्डाजोल, हाइड्रोक्सिक्लोरोक्विन, क्लोरोक्विनलगायत थिए। तर, ५ दिनअघि भारत सरकारले २९ प्रकारका औषधिको निर्यात फुकुवा गरेपछि नेपालको लागि थप औषध आयात सहज भएको वीरगंजका व्यवसायीको भनाइ छ।

औषधि व्यवसायी संघका उपाध्यक्ष एवं वीरगंजका व्यवसायी प्रकाश खण्डेलवालका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेपछि भारतले विश्वका धेरै मुलुकमा औषधि निर्यातलाई फुकुवा गरेको जनाए। उनले बन्देजमा परेका पारासिटामोल र अरनिन्डाजोल पनि आउन लागेको र बाँकी महत्वपूर्ण मलेरियाको औषधि मानिएको हाइड्रोक्सिक्लोरोक्विन पनि भारतले नेपाल सरकारलाई १० लाख टयाब दिने घोषण गरेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell