सुर्खेतः परीक्षण नतिजा नेगेटिभ देखिएपछि सुर्खेतमा क्वारेन्टाइनमा बसेका नागरिकलाई घर पठाइएको छ। भारत लगायत विभिन्न देशबाट भित्रिएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वाब परिक्षणपछि घर पठाइएको हो।
लकडाउनपछि प्रदेश ५ को रुपैडिया नाका, सुदूपश्चिमको गौरीफन्टा र गड्डा चौकी नाकाबाट भित्रिएका नागरिकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात १८८ जनालाई घर पठाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।
‘सरकारले गरेको लकडाउनपछि भारत लगायत विभिन्न मुलुकबाट आउनुभएका १८८ जना सवैको स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएका थियौँ। उहाँहरु अधिकांशको रिपोर्ट नेगेटिभ देखियो। पाँच जनाको रिपोर्ट आउन बाँकी छ’, वाग्लेले भने ‘घर गए पनि उहाँहरुलाई एक हप्तासम्म सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौँ। स्वास्थ्यमा केही समस्या देखियो भने स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्नुस् भनेका छौँ।’
सुर्खेतस्थित क्वारन्टाइनमा बसेका दैलेखका ८७, सुर्खेतका ५७, जाजरकोट २०, जुम्लाका १६, कालिकोटका ७ र अछाम एक गरी १८८ जनालाई घर पठाइएको हो।
नेपाली सेनाले सुर्खेतस्थित खुलामञ्चमा निर्माण गरेको क्वारेन्टाइनमा चैत १५ गतेदेखि उनीहरुलाई राखिएको थियो। प्रदेश सरकारले नै बसको व्यवस्था गरेर उनीहरुलाई जिल्ला पठाएको हो।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा समन्वयका लागि गठित समितिको बैठकले क्वारेन्टाइन अवधि १४ दिन पूरा गरेकाहरुको परीक्षण गर्ने निर्णय गरेको थियो। परीक्षणपश्चात सवैको नतिजा नेगेटिभ आएको हो।
क्वारेन्टाइनमा बस्न अधिकांश नागरिकले आनाकानी गर्ने र भाग्ने गरेका थिए। तर, क्वारेन्टाइनबाट फर्केकाहरु भने आफ्नै स्वास्थ्यको सुरक्षा र घरपरिवार सवैको सुरक्षाका लागि क्वारेन्टाइन बस्नु सकारात्मक भएको बताउँछन् ।
‘क्वारेन्टाइनमा बस्नु सकारात्मक हो। हाम्रै लागि नै बस्नुपर्छ’ भारतबाट आएका सुर्खेतका सुरेन्द्र सुनारले भने, ‘हामी सुरक्षित भएमात्रै घरपरिवार समाज सवै सुरक्षित हुनु हो। क्वारेन्टाइन कुनै जेल होइन। सवै स्वास्थ्य परीक्षण गर्ने र हेरविचार गर्ने ठाउँ हो।’
कर्णाली प्रदेशमा अहिलेसम्म भारत तथा तेस्रो मुलुकबाट आएका सवैको परीक्षण नेगेटिभ देखिएको छ। कर्णाली प्रदेशमा स्थानीय सरकार, प्रदेश सरकार र नेपाली सेनाले गरी तीन हजार ७८० क्वारेन्टाइन निर्माण गरेका छन्।