PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कसरी हुँदैछ जुम्लामा कोरोना जोखिम न्यूनीकरणको प्रतिकार्य?



फूलमाया पुरी

कसरी हुँदैछ जुम्लामा कोरोना जोखिम न्यूनीकरणको प्रतिकार्य?

काठमाडौँः जुम्लामा भारतलगायतका विभिन्न देशबाट आएका व्यक्तिसमेत तीन सय २४ जनाको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आइसकेको छैन।

'भारत र अन्य मुलुकबाट आएका सबै व्यक्ति र उनीहरुका नजिकका आफन्तहरुको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ। रिपोर्ट आइसकेको छैन' प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्।

अहिले जिल्लामा बाहिरबाट आउनेक्रम रोकिएको पनि बञ्जाडेले बताइन्। जिल्लामा आशंकितको नमूना संकलन गरिसकेकाले क्वारेन्टाइन थप व्यवस्थित गर्ने तयारी रहेके उनको भनाई छ।

बञ्जाडेले प्रत्येक नगर र गाउँपालिकामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनस्थल व्यवस्थित भइरहेको पनि बताइन्। उनका अनुसार चैत्र २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा आशंकितको र्‍यापिड टेस्ट भएको छ।

दुःख पाएको नागरिकको गुनासो

नमूना संकलनका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता फठाएकोमा स्थानीयले भने गुनासो गरेका छन्। तिला गाउँपालिकाका स्वास्थ्य फाँटकी कर्मचारी जानकी धितालले सामाग्री अभावमा नागरिकलाई फर्काउन वाध्य भएको बताइन्।

'पर्याप्त सामाग्री अभावमा हामीले सबैको परीक्षण प्रक्रिया अघि बढाउन सकेका छैनौँ। दुःख दिनलाई मात्रै बोलाउने भन्दै गाउँलेले गुनासो गरिरहेका छन्' धितालले भनिन्।

तर प्रजिअ बञ्जाडेको भने किट नपुगेको नभई गाउँपालिकाले दिएको संख्याभन्दा बढी मानिस नमूना संकलन स्थलमा पुगेकाले त्यसै फिर्ता हुनुपरेको बताइन्।

स्वास्थ्यकर्मीलाई पनि सुरु-सुरुमा के कसरी खटिने चुनौती रहेके उनको धितालको भनाई छ। पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामाग्री प्राप्त भएपछि काम गर्न केही सहज भएको उनको भनाई छ।

कोरोना संक्रमणको लक्षण देखिएका तत्काल परीक्षणका लागि व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको पनि बञ्जाडेको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell