PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

२०७६ सालमा चम्किएका नेपाली खेलाडी



मुकुन्द घिमिरे

२०७६ सालमा चम्किएका नेपाली खेलाडी

नयाँ वर्ष आउँदै छ। २०७६ सालको अन्तिम समयमा कोरोना भाइरसका कारण खेलहरु प्रभावित बने। खेलमात्र होइन देश नै लकडाउनमा छ। अझ विश्व नै।

खेलकुदको सन्दर्भमा भने समग्रमा यो साल महत्वपूर्ण रह्यो। सबैभन्दा महत्वपूर्ण पक्ष ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पायो। त्यसैले यो साल नेपाली खेलाडीले नेपालमै विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पायो। चाहे त्यो दक्षिण एसियाली खेलकुद होस, क्रिकेट सिरिज होस या अरु कुनै।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएसँगै नेपाली खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाए। धेरै खेलाडीले यसलाई सदुपयोग गरे। यसैको त उपज हो सागमा ५१ स्वर्ण सहित नेपालले हात पारेको २ सय ६ पदक। त्यतिमात्र होइन, नेपालको ए डिभिजन लिगमा १०० गोल यही वर्ष पुग्यो। व्याडमिन्टनमा वरीयताको ऐतिहासिक सफलता मिल्यो। क्रिकेटमा कीर्तिमान बन्यो। टुट्यो र फेरि अर्को कीर्तिमान बन्यो।

खेलकुदमा यतिका गतिविधिहरु चलिरहँदा केही खेलाडीहरुले विशेष छाप छोड्न सफल रहे। अझ प्रधानमन्त्री केपी शर्मा ओलीको शब्दमा भन्ने हो भने ‘चम्किए’'।

गौरिका सिंह:

पौडी। दक्षिण एसियाली खेलकुद (साग) चर्चामा रहिन गौरिका सिंह। नेपालमा पौडीको पदकको खडेरीलाई तोड्दै ४ स्वर्ण २ रजत र ३ कास्य जितेर उनले देश नाम उच्च राख्न सफल भइन्।

व्यक्तिगत तर्फ पहिलो स्वर्ण जित्दा नै दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनिसकेको थियो। तर, गौरिका यतिमै रोकिइनन्। उनले दोस्रो, तेस्रो र चौथो स्वर्ण जित्दै एकपछि अर्को कीर्तिमान बनाइन्। त्यसबाहेक पनि रजत र कास्य पदकहरु जितिन जुन उनको स्वर्ण पदकको छायाँमा परे। त्यस्तै उनले अर्का कीर्तिमानी खेलाडी दीपक विष्टको चार वटा स्वर्णको कीर्तिमानलाई पनि बराबरी गरिन्। सन् २०१६ को १२ औ सागमा पनि सहभागिता जनाएकी उनले ब्यक्तिगत तर्फ रजत पदक जितेकी थिइन्।

उनी बेलायतमा बस्दै आएकी छिन्। सागमा स्वर्ण जितेसँगै आफूलाई नेपाली होइन भन्दा नराम्रो लाग्ने गरेको बताएकी थिइन्।

‘तिमी बाहिर बस्छौ। तिमी नेपाली नै होइन भनेजस्तो गर्छन्। त्यसो होइन। म नेपाली नै हो। यो मेडल नेपाललाई नै हो,’ उनले भनेकी थिइन्।

कुशल मल्ल

नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेल चर्चामा रह्यो। पहिलो कारण घरेलु मैदानमा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो जित निकालेको थियो। र दोस्रो कारण थियो कुशल मल्लले बनाएको कीर्तिमानी अर्धशतक।

मल्लको अर्धशतको विदेश सञ्चार माध्यमहरुमा पनि राम्रै चर्चा कमाएको थियो। मल्लले ५१ बलमा ५० रन बनाउँदै नेपालको खस्कँदो पारीलाई त सम्हालेका थिए। अर्धशतक बनाएसँगै ओडिआइ इतिहासमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने। त्यो पनि डेभ्यु खेलमै।

अझ रोचक त यो छ भने रोहित पौडेलको स्थानमा आएका मल्लले पौडेलकै रेकर्ड तोडेका थिए। मल्‍लले ५० रन बनाउँदा आफ्नो ब्याट दर्शक सामु उठाएनन्। कारण थियो – खेलमा अझै ठूलो स्कोर बनाउने महत्वकांक्षा। उनको त्यही अर्धशतकले नेपाललाई जित दिलाउन सफल भयो।

रोहित पौडेलले १६ वर्ष १ सय ४६ दिनको हुँदा बनाएको ओडिआइ रेकर्ड कुशल मल्लले १५ वर्ष ३ सय ४० दिनको उमेरमा तोडे। रोहितले युएई विरुद्धको खेलमा यो रेकर्ड बनाएका थिए।

सन्तोष साहुखल

शहीद स्मारक ए डिभिजन लिगमा यसपटक एउटा यस्तो इतिहास बन्यो जुन सजिलै टुट्ने छैन्।

दशरथ रंगशालामा पुष २३ गते ए डिभिजन लिगमा खास खेल हुँदै थियो थियो। च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीच। जसमा शहीद स्मारक ए डिभिजन लिगमा राष्ट्रिय कीर्तिमान बन्दै थियो।

कीर्तिमान बनाउने खेलाडी थिए सन्तोष साहुखल। च्यासल युथ क्लबका कप्तान। राष्ट्रिय टिमबाटसमेत कुनै बेला प्रतिनिधित्व गरिसकेका साहुखलले यसपटक ए डिभिजन लिगमा ९९ गोल गरेर दुई खेलमा गोलरहित बने। र, नेपाल पुलिस विरुद्दको खेलमा गोल गर्दे इतिहास बनाए।

साहुखलले अनुभवी टिम नेपाल पुलिसविरुद्ध गोल गर्दै १०० औं गोल गरे। १८ औँ मिनेटमा सन्तोषले प्रहार गरेको बलले जाली चुम्दा नेपाली फुटबलमा इतिहास बनेको थियो। एउटा राष्ट्रिय कीर्तिमान। जो सजिलै बन्न सक्नेवाला देखिँदैन। निरन्तरता, फिटनेस र स्किलले गर्दा सन्तोषले आफ्नो १०० औँ गोल गरे।

२०६० सालमा थ्री स्टारबाट लिगमा डेभ्यु गरेका साहुखलले आफ्नो पहिलो लिगमै ६ गोल गरेर आफूलाई प्रमाणित गरिसकेका थिए। २०६१ सालमा एपिएफबाट पनि उनले ६ गोल गरेका थिए। पछि फेरि उनी थ्री स्टार नै फर्किए। त्यस्तै २०६२ सालमा थ्री स्टारबाट ९ गोल गरेका उनले २०६३ सालमा ११ गोल गरेका थिए। त्यस्तै ६६/७७ मा १९ गोल गरेका साहुखल २०६८ सालमा मनाङ मर्स्याङदी क्लबमा पुगे। त्यहाँबाट पनि उनले १६ गोल गरे। फेरि अर्को सिजन उनी थ्री स्टारमै फर्किए। २०६९ मा १७ गोल गरेका उनले २०७० मा थ्री स्टारबाट ९ गोल गरेका थिए।

प्रिन्स दाहाल

प्रिन्स दाहाल अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलताको सिँडी चड्दै गरेका खेलाडी मध्येका एक हुन्। उमेर १६। र, पढाइ कक्षा ९ मा। कलिलै उमेर भए पनि उनका उपलब्धि भने लोभलाग्दा छन्। खेलकुदकै पारिवारिक वातावरणमा हुर्केका प्रिन्सले हाल ब्याडमिन्टको जुनियरतर्फ विश्ववरियतामा सातौं स्थानमा छन्।

यसवर्ष प्रिन्सले दुवई इन्टरनेसनल जित्दै आफूलाई विश्वस्तरमा उभ्याएका थिए। त्यसयता साग, प्रेसिडेन्ट कपलगायतका प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका छन्।

सन्दीप लामिछाने

विश्वका सबै जसो प्रतिस्ठित फ्रेन्चाइज लिगहरु खेलिसकेका लामिछानले विश्वस्तरमा राम्रो प्रभाव छाड्दै गएका छन्। राष्ट्रिय टिममा होस या फ्रेन्चाइज लिगमा, लामिछानेले आफ्नो प्रभाव छाडेकै हुन्छन्। खेलले मात्र होइन उनी कहिले सामाजिक कामले चर्चामा रहन्छन् तर कहिले गीत गाएर। उनले तत्कालिन समयको माग अनुसार अस्ट्रेलियामा भिजिट नेपालको प्रचार र डडेलो पीडितलाई सहानुभुती एकैपटक गराएर चर्चामा आए। पछि उनले ६ करोडको घर किने भनेर  पनि चर्चा राम्रै चल्यो। त्यस्तै कोरोनाको महामारी चलिरहँदा लामिछानेले १ लाख रुपैयाँ सहयोग गरेका छन्।

उनले यही वर्ष आफ्नो करियरमा १०० विकेटको कोषेढुङ्गा पार गरे। एसिसी इस्टर्न रिजनमा मलेसियासँगको खेलमा ३ विकेट लिएसँगै लामिछानेल टी २० करियरमा १०० विकेट पुरा गरेका थिए।

त्यस्तै कीर्तिपुरमा भएको नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक सिरिज अन्तर्गतको अमेरिका विरुद्दको दोस्रो खेलमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा सन्दीपले ६ र सुशन भारीले ४ विकेट लिँदा अमेरिका ३५ रनमा समेटिएको थियो।

अन्जली चन्द

दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेटमा एउटा दुर्लभ कीर्तिमान बन्यो। यो कीर्तिमानको चर्चा नेपालमा मात्र नभएर विश्व क्रिकेटमा समेत भयो। पोखरामा भएको नेपाल र माल्दिभ्सबीचको खेलमा नेपालले १० विकेटको जित निकाल्यो। त्यो पनि पाँच बलमै।

माल्दिभ्सको विकेट लिने क्रममा अन्जली चन्दले उत्कृष्ट बलिङ गरेकी थिइन। चन्दले ६ विकेट लिइन् त्यो पनि विनाकुनै रन। र, यो कीर्तिमान बन्न पुग्यो। उक्त खेलम माल्दिभ्सका ८ खेलाडी रन नजोड्दै आउट भएका थिए।

सागमा महिला र पुरुष दुवैतर्फ नेपालले कास्य पदक जितेको थियो।

रसिला तामाङ

दक्षिण एसियाली खेलकुदको माहोलमा नेपालमै अर्को खेल इभन्ट पनि चलिरहेको थियो एभरेस्ट म्यारथन। विश्वकै सबैभन्दा अग्लो ठाउँमा हुने म्याराथन। महिला पुरुष दुवै सहभागी हुने यस रेसमा नेपाली २० र ४० विदेशी खेलाडीलाई पछि पार्दै उनी पहिलो भएकी थिइन्। जितको खुशी राम्ररी मनाइनसक्दै उनी हान्निइन् चीनतिर।

चीनको कुनिङमा भएको ५० किमी इन्डिभिजुअलमा रसिलाले ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितिन्। एक महिना नबित्दै दुई ठूला प्रतियोगितामा स्वर्ण पदक हात हात पारिन्।

अल्ट्रा रेस। अर्थात् हाइ अल्टिट्युडमा हुने दौड।

माइनस तापक्रममा दुई हजार मिटरबाट शुरु भएको रेस ४ हजार २ सय मिटरमा पुगेपछि आधा भएर फेरि फर्केर उत्तिकै दुरी तय गर्नुपर्ने थियो उक्त रेसमा। कतै उकालो, कतै ओरालो, कतै पिच त कतै गोरेटो। रसिलाले यस्तै साहसिक रेसमा स्वर्ण पदक जितिन्। उक्त रेसमा रसिलाले आफ्नो निकटम प्रतिद्वन्दीलाई १ घन्टा १३ मिनेट पछाडि पार्दै ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पूरा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell