काठमाडौं : लकडाउनको कारण देश अहिले ठप्प छ। मानिसहरु घर भित्र नै बसिरहेका छन्। यसको असर अपराधिक क्रियाकलापमा पनि देखिएको छ। २० दिनको अवधिमा काठमाडौं उपत्यकाभित्र कुनै पनि जघन्य अपराध नभएको प्रहरीको दावी छ।
काठमाडौंमा केही चोरीका घटना भने भएका छन्। मानिस घर, पसल तथा कोठा छोडेर गएका कारण चोरी भएको प्रहरीको दावी छ। 'जघन्य अपराध भएका छैनन्। चोरीका घटना भने फाट्टफुट्ट देखिएका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।
महानगरीय अपराध महाशाखामा पनि कुनै जघन्य प्रकृतिका अपराधका उजुरी आएका छैनन्। कालोबजारीका घटनाको अनुसन्धानमा भने प्रहरी सक्रिय भएको छ। कोरोना भाइरसको संक्रमण बढ्ने आशंका भएपछि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सामान्य प्रकृतिका घटनामा पक्राउ नगर्न निर्देशन समेत दिइसकेको छ।'जघन्य प्रकृतिका अपराध भएको छैन। कालोबजारी बढेको देखिन्छ। त्यसैको अनुसन्धान गरिरहेका छौं', महाशाखाका एसएसपी सहकुल थापाले भने।
अहिले काठमाडौं भित्र १ सय ७६ जना थुनुवा रहेका छन्। काठमाडौंमा रहेका १४ वटा वृत्तमा उनीहरुलाई राखिएको छ। एउटा कक्षमा धेरै थुनुवा हुँदा संक्रमण फैलिने सम्भावनाले पनि थुनुवा सङ्ख्या घटाउन लागिएको छ। प्रहरीले अभद्र व्यवहार, कालोबजारी लगायत जिल्ला प्रशासन कार्यालबाट हेर्ने केसमा प्रहरीले चाँडो मुद्दा बुझाउँदै छोड्दै गरेको छ।
आजबाट अदालती काम कारबाही हुने भएपछि प्रहरीले अदालतमा बुझाउने केस बुझाएर थुनुवाको सङ्ख्या घटाउने तयारी गरेको छ। महिला हिंसाका उजुरी भने केही आएका छन्। काठमाडौंमा मात्र शनिवारसम्म ६ वटा महिला हिंसाका उजुरी परेको छ।
तर लकडाउन उल्लङ्घन गर्नेको सङख्या भने बढेको छ।