PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना परीक्षणका लागि हेलिकप्टर : सेनाकोसँगै निजी पनि तम्तयार



वसन्तराज उप्रेती

कोरोना परीक्षणका लागि हेलिकप्टर : सेनाकोसँगै निजी पनि तम्तयार

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्न नदिन मुलुकका बिभिन्न जिल्लामा स्वाब संकलन र मेडिकल उपकरण पुर्‍याउन हेलिकोप्टर प्रयोग गर्न थालेको छ। संक्रमण फैलिन नदिन परीक्षण प्रक्रियालाई तीव्रता दिन हेलिकोप्टरको प्रयोग गरिएको हो।

अहिले नेपाली सेना र केही निजी हेलिकोप्टरले चार्टर फ्लाइट गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुदूरपश्चिममा गाडीबाट आउजाउ गर्न समस्या भएकाले हेलिकोप्टरमार्फत मेडिकल किट्स पठाउने र स्वाब संकलन गरेर परीक्षण केन्द्रसम्म ल्याउने गरिरहेको बताए।

मन्त्रालयका अनुसार सुदूरपश्चिमको डोटी, बैतडी र डडेलधुरालगायत क्षेत्रमा हेलिकोप्टरमार्फत स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी परिचालन भइसकेको छ। उनका अनुसार अन्य प्रदेशमा भने गाडीमार्फत नै मेडिकल किट्स र स्वाब संकलन भइरहेको छ। सुरुमा सरकारले स्वाब संकलनका लागि जहाज नै प्रयोग गरेको थियो। जहाज विमानस्थल भएको क्षेत्रमा मात्रै उडान-अवतरण गर्ने भएकाले हेलिकोप्टर प्रयोग गरेको हो।

कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले दुर्गम क्षेत्रमा स्वाब संकलनका लागि हेलिकोप्टर परिचालन गर्ने निर्णय समेत गरेको छ।

‘मुलुकको कतिपय क्षेत्रमा स्वाब कलेक्सनका लागि हेलिकोप्टर आवश्यक देखिएको छ। नेपाली सेनाको हेलिकोप्टरसँगै निजी वायुसेवा कम्पनीको हेलिकोप्टर पनि प्रयोगमा ल्याउने निर्णय भएको छ,‘ स्रोतले भन्यो।

चैत २० गतेदेखि बिहीबारसम्म सेनाको एम्बुलेन्स, हेलिकोप्टर र स्काई ट्रकमार्फत मुलुकका विभिन्न स्थानबाट २४ सय ९१ जनाको स्वाब संकलन गरिएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। उनका अनुसार सेनाले सुदूर पश्चिम र कर्णाली प्रदेशमा स्काई ट्रक र हेलिकोप्टर प्रयोग गरी स्वाब संकलन गरेको छ ।

सेनाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मात्र २१ सय १४ जनाको स्वाब संकलन गरिएको छ। स्वाब संकलनका लागि सेनाले चालकदल र स्वास्थ्यकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै पीपीई, ग्लोब, मास्क, स्यानिटाइजरलगायत सामाग्रीको प्रयोग गरिएको प्रवक्ता पाण्डले जानकारी दिए।

सेनाले आठ दिनको अवधिमा कैलाली, कञ्चनपुर, अछाम, बाँके, डोटी, सुर्खेत, वीरगंज र काठमाडौंलगायत विभिन्न क्षेत्रबाट स्वाब संकलन गरेको थियो। उच्चस्तरीय समितिले  भौगोलिक अवस्था कठिन रहेका स्थानमा हेलिकोप्टरको स्टेशन नै राख्न निर्देशन आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘विशेष गरी विकट क्षेत्रमा आकस्मिक सेवा दिनका लागि हेलिकोप्टर कम्पनीको स्टेशन राख्न मौखिक निर्देशन आएको छ। यही कुरालाई मध्यनजर गर्दै विभिन्न कम्पनीका हेलिकोप्टरलाई परिचालन लागि निर्देशन दिँदैछौं,‘ प्राधिकरणका एक उच्चपदाधिकारीले भने।

हेलिकोप्टर कम्पनीलाई आलोपालो गरेर सेवा दिन निर्देशन दिने योजना रहेको प्राधिकरणले जनाएको छ। सरकारको मार्गनिर्देशनअनुसार निजी हेलिकोप्टर कम्पनीले कुनै पनि अवस्थामा सेवा दिन तत्पर रहेको जनाएका छन्। केही कम्पनीले सरकारको निर्देशनभन्दा अगाडि नै विरामीको उद्धार लगायतका काम गर्दै आएका थिए।

 निजी कम्पनी कैलाश हेलिकोप्टरले कोरोना संक्रमणपछि पनि निरन्तर सेवा दिइरहेको छ। कम्पनीले विभिन्न दुर्गम क्षेत्रबाट गम्भीर विरामीको रेस्क्यु फ्लाइट समेत गर्दै आएको छ। तीन दिनयता निजी हेलिकोप्टर कम्पनी कैलाशले मात्र स्वाब संकलनका लागि सुदूरपश्चिम क्षेत्रमा उडान गर्दै आएको छ। ‘हाम्रो मुख्य काम भनेकै उद्धार उडान गर्नु हो। यो विषम परिस्थितिमा सरकारले गरेको निर्देशनलाई पूरा गर्न हामी तत्पर छौं,’ कम्पनीका एक संचालकले भने।

चालकदल सुरक्षालाई मध्यनजर गर्दै लागि कैलाशले जहाज डिसइन्फेक्ट, चालकलाई पीपीई, मास्क, ग्लोब्स, स्यानिटाइजरको व्यवस्था गरिरहेको जनाएको छ। ‘यो कामका लागि हामीले हेल्थ प्रोसिड्योर अनुसार नै चालकहरुलाई परिचालन गरेका छौं। स्वाब कलेक्सन गरेर जहाज बेसमा आइपुगेपछि नियमित डिसइन्फेक्ट गर्दै आएका छौं। पछि कोभिड संक्रमित विरामीलाई हेलिकोप्टरमार्फत आकस्मिक सेवा दिनुपर्दा ककपीट र ब्याक सीट कभर गर्छौं,’ उनले भने।  

सिम्रिक, एयर डाइनेष्टी, हेलि एभरेष्ट र माउन्टेन लगायत हेलिकोप्टर  कम्पनीले पनि आवश्यक पर्दा सेवा दिन 'स्ट्याण्ड बाइ' रहेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell