
- तेजेन भट्टराई -
कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रलाई अभूतपूर्व असर पारेको बेला विदेशमा रहेका विद्यार्थीहरू अप्ठ्यारोमा परेका र नेपाल सरकारले उनीहरूको लागि केही गर्न नसकेको भन्ने खालका आवाज सुनिँदै आएको छ।
दु:ख परेको क्षणमा जोसुकैलाई सहयोग गर्नु मानवीय कर्तव्य हो, त्यसमाथि नेपालमा हुर्केर विदेश पढ्न गएकाहरूलाई नेपाल सरकारले सहयोग गर्न सके झनै राम्रो हुने कुरामा दुईमत हुन सक्दैन।
तर, भावनात्मक पक्षलाई एकछिन बिर्सने हो भने नेपालबाट युरोप, अमेरिका र अस्ट्रेलियातिर पढ्न भनेर जाने नेपाली युवावर्गसँग देशले धेरै गुनासो गर्ने ठाउँ छन्।
केही केही अपवादलाई छोडेर नेपालबाट पश्चिमा देशमा पढ्न जाने प्रायः सबै विद्यार्थीहरू नेपालका उच्च, उच्च मध्यम या मध्यम वर्गीय छन्। निम्न वर्गका विद्यार्थीलाई त भिसा प्रक्रियामा लाग्ने रकम र अध्ययन खर्चको लागि देखाउनुपर्ने बैंक संचिती र आम्दानीको श्रोतले पहिले नै तर्साउँछ। दोश्रो कुरा, यस्ता विद्यार्थीहरू अब्बल क्षमताका हुन्छन्। सामान्य क्षमता भएकाले कलेज भर्ना र भिसा पाउने सम्भावना हुने कुरा भएन। तेस्रो, अधिकांश विद्यार्थीहरू सम्बन्धित विषयमा नेपालमा अध्ययन नहुने भएर विदेशिएका भने होइनन्। र, सबैभन्दा दु:खद् पक्ष, विदेश पढ्न जानेहरूको उद्देश्य विदेश गएर यहाँ भन्दा राम्रो शिक्षा लिने र नेपाल फर्केर त्यसको प्रयोग गर्ने भन्ने होइन। शिक्षाका लागि भनेर विदेश छिर्ने र आफ्नो शिक्षामा भन्दा उतैतिर स्थायी बसोबासको प्रवन्ध मिलाउनेतिर ध्यान हुने हो।
देशकै साधन सम्पन्न, प्रतिभाशाली र सम्भावना बोकेका युवा पढ्ने नाममा विदेशिने र पलायन हुने अधिकांशको जवाफ हुन्छ - देशमा केही गर्ने वातावरण नै छैन। निजी विद्यालय/क्याम्पसमामा पढेको तर्फ इङ्गित गर्दै कसैकसैको अझ आक्रमक प्रतिप्रश्न राख्छन् - राज्यले चाहिँ हामीमाथि के लगानी गरेको छ र? तर, यस्ता उत्तरबाट सन्तुष्ट हुन सक्ने आधार कमजोर छ। किनभने पश्चिमा विकसित देशका कलेजमा भर्ना हुने र ती देशका सम्भावित नागरिकको रुपमा स्वीकार्य बनाउने उनीहरूको त्यो ल्याकत यहीँको वातावरणको उपज हो। त्यस्तै, निजी विद्यालयामा पढ्ने हैसियत बनाउने कुरामा राज्यको पक्कै पनि प्रत्यक्ष/अप्रत्यक्ष योगदान हुन्छ। अनि क्षमता र स्रोत भएका व्यक्तिहरू अङ्ग्रेजी अभिव्यक्ति सापट लिएर भन्नु पर्दा "अझ हरियो घाँस" भएकै चरनतिर हराउने भए देशको वातावरण बन्ने नै अहिलेको जस्तो हो। छाँटिएका, कम क्षमता भएका, अपठित, बुढाबुढी, रोगीलाई देश जिम्मा लगाएर हिँडेपछि कहिलेकाही भेटघाटमा नेपाल आउँदा अस्तव्यस्त विमानस्थलमा घण्टौ कुर्नुपर्यो भनेर होस् या चढेको ट्याक्सी जाममा फस्यो, हिलोमा गाडियो, खाल्डा-खुल्डीले थर्कायो भनेर गुनासो मात्र गर्न अलि सुहाउँदैन कि?
देशले विकास र सुव्यवस्थाको बाटो समाउनका लागि राजनीतिक स्थिति, प्राकृतिक स्रोत/साधन र मानव संशाधनको उचित संयोजन आवश्यक हुन्छ। धमिलिएको राजनीतिक अवस्था सङ्ल्याउन सक्षम युवाहरूले राजनीतिक प्रक्रियामा भाग लिएर असल नेतृत्वको लागि भूमिका खेल्नु अत्यन्तै आवश्यक छ। युरोप, अमेरिका र अस्ट्रेलियामा बसेर लेखेको फेसबुकको स्टाटस र ट्वीटले नेपालको चुनावमा सक्षम र इमान्दार नेतृत्व आउँदैन। बुढा बुबाआमालाई पठाएको रेमिटेन्सले उहाँहरू राम्रो घरमा बस्नुहोला र घरको नक्सा पास गर्दा केही कर तिर्नु होला। तर, त्यसले दुई जनाका लागि पनि रोजगारी सिर्जना हुँदैन। रेमिटेन्सका रुपमा भित्रिएको रकम चिनियाँ कपडा, भारतीय मोटरसाइकल र अरबका इन्धनका लागि पुनः बाहिरिने भइरहन्छ। फेसबुक र युट्युबमा दाहसंस्कार गर्न खर्चको अभाव भएका, उपचार नपाएकाहरूलाई सहयोग गर्नेको सूचीमा विदेशमा बस्नेहरूको नाम आइरहनेछ। तर, अरु असंख्य जनता गुमनाम मरिरहेकै हुनेछन्। देश उही पाराले चलिरहनेछ। अनि कहिलेकाहीको नाकाबन्दी र कोरोनाभाइरसको रुपमा जस्तै संकट आउँदा सबैलाई गाँस, बाँस र कपडाकै पनि समस्या आइरहेकै हुनेछ।
त्यसैले, सधैं विदेशको रमझममा रमाउने र रमाउन खोज्नेहरूले यो बुझ्नुपर्छ कि विदेश भनेको एउटा बबल या फोहरा हो। यो मनमोहक तर क्षणभङ्गुर हुनसक्छ। पराइ देशमा गएर पौरख गरेर त्यहाँको अर्थतन्त्रलाई योगदान पुर्याइरहँदा स्वदेश सधै परनिर्भर बनिरहेकै हुन्छ। देशका दृष्टिबिहीनहरूको आँखामा ज्योति दिनसक्ने सन्दुक रुइतहरू, सापटी मागेरै भएर पनि चाहिएको बेला पीपीई बनाउने महावीर पुनहरू र बाँझा खेतमा अन्न फलाएर नेपालीलाई खुवाउन सिकाउने मदन राईहरू विदेशतिरै रुमल्लिरहेको हुनेछन्।
राम्रो शिक्षा पाएका र सानो - ठूलो सिर्जनात्मक उद्यम शुरु गर्न सक्ने आर्थिक गच्छे भएका यी युवाहरू स्वदेश फर्केमा देशको समग्र विकासको लागि वरदान साबित हुनेछ। तर, यसका लागि उनीहरूले स्वदेशको विसंगति र अप्ठ्याराहरूबाट भाग्ने होइन भिँड्ने साहस बटुल्न सक्नुपर्छ। ज्ञान, सीप र श्रोत भएका यी युवाहरूले यति नगर्दासम्म हाम्रो देशको आर्थिक दुरावस्था र विकृत राजनीतिक संस्कार बदल्न गाह्रो हुन्छ।
पश्चिमका देशहरूमा अध्ययन गएर पलायन हुनेमात्र होइन, खाडी र अन्य मुलुकहरूमा श्रम गर्ने दाजुभाइ दिदी बहिनीहरूले पनि देशको लागि गर्नसक्ने धेरै छ। स्मरणीय के छ भने नेपाल भारतको लागि रेमिटेन्सको सातौं ठूलो स्रोत हो। यसको अर्थ नेपालमै पनि काम गर्ने क्षेत्रहरू छन् भन्ने बुझिन्छ। नेपालमै निर्माण क्षेत्रमा काम गर्ने धेरै विदेशी भेटिन्छन्। साना व्यवसायमा पनि उनीहरूको संख्या उल्लेखनीय छ। कतिपय उद्योगमा काम गर्ने नेपाली जनशक्तिको अभाव भएको र श्रमिक खोज्न सीमापारी जानु परेको तथ्य सबैसामु छ। सडक यातायातको विस्तारले कृषि उत्पादनले बजार पाउन थालेको छ। अहिलेको महामारीको बेलामा सबभन्दा दिगो र महत्वपूर्ण कर्म कृषि नै रहेको प्रमाणित भएको छ। तर, हामी नेपालीहरू विदेशमा जस्तो सुकै काम गर्न पनि तयार हुने तर उति नै आम्दानी भए पनि स्वदेशमा श्रम गर्न धक मान्ने बानी बसेको छ। यस्तो प्रवृत्ति हामी सबैका लागि घातक छ। त्यसैले कोरोनाका कारण विदेशमा कार्यरत नेपाली दाजुभाइ र दिदीबहिनीहरूले रोजगारी गुम्दा देशकै डाँडाकाँडा र फाँटहरूमा पसिना चुहाउने संकल्पका साथ स्वदेश फर्कनुपर्छ। राज्यले पनि यसलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका आधार तयार पार्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ।