PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

यमनमा पनि पुग्यो कोरोना भाइरस, पहिलो संक्रमित फेला परेपछि स्वास्थ्यकर्मी त्रसित, सहायता एजेन्सीको चिन्ता



पहिलोपोस्ट

यमनमा पनि पुग्यो कोरोना भाइरस, पहिलो संक्रमित फेला परेपछि स्वास्थ्यकर्मी त्रसित, सहायता एजेन्सीको चिन्ता
PHOTO : Khaled Abdullah/Reuters

युद्धग्रस्त एसियाली देश यमनमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको छ। हाद्रामाउत प्रान्तको तटिय क्षेत्र आश शिहरमा पहिलोपटक एक पुरुषमा कोरोनाको संक्रमण देखिएको यमनको कोभिड १९ राष्ट्रिय आपतकाल समितिले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्द-रब्बू मन्सौर हादीको सरकारले सञ्चालन गरेको आपतकाल समितिले संक्रमित विरामीको अवस्था स्थिर रहेको र उपचार भइरहेको बताएको छ।

पहिलो संक्रमित फेला परेसँगै यमनमा स्वास्थ्यकर्मी त्रसित बनेका छन्। ५ वर्ष लामो गृहयुद्धले स्वास्थ्य क्षेत्र तहसनहस भएको र दाताका भरमा देश चलिरहेका बेला कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मी चिन्तित बनेका हुन्। यमनमा कोरोनालाई एक सम्भावित विनाशकारी विकासका रुपमा हेरिएको छ।

स्थानीय गभर्नर फाराग अल-बोहस्नीले संक्रमित भेटिएको क्षेत्रमा आंशिक कर्फ्यू लगाइएको र तटिय क्षेत्रमा काम गर्ने सबै कामदारलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको बताए। उनका अनुसार छिमेकी अल-माहरा प्रान्तले हाद्रामाउतसँगको सीमा बन्द गरेको छ। आश शिहरमा खाली सडकमा सुरक्षाकर्मीले गस्ती सुरु गरेका छन्।

संक्रमण देखिएपछि सहायता एजेन्सीहरूले पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरुका अनुसार यमनमा कोभिड १९ को अपरिहार्य र डरलाग्दो प्रकोप देखिनेछ। किनकि वर्षौदेखिको गृह युद्धका कारण यमनमा स्वास्थ्य प्रणाली निकै कमजोर छ।

गैरसरकारी संस्था अक्सफामले कोरोना यमनका लागि ठूलो झटका भएको बताएको छ। इन्टरनेशनल रेस्क्यू कमिटीले पनि यसलाई एक खराब सपना भनेको छ।

यमन विश्वमै सबैभन्दा ठूलो मानव संकटसँग जुधिरहेको छ। लाखौ मानिस खाद्य सहायतामा आश्रित छन्। यहाँ पहिला देखि नै हैजा, डेंगु र मलेरियासहित अन्य कैयौ विरामी छन्। यहाँका आधाभन्दा कम अस्पतालमात्र सञ्चालन भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell