
भारतमा लकडाउन थप्न प्रधानमन्त्री नरेन्द्री मोदी तयार भएका छन्। २१ दिनको लकडाउन पर्सि सकिनैलाग्दा भारतमा थप दुई साता लकडाउन बढाउने तयारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमा प्रधानमन्त्री मोदी लकडाउन बढाउन तयार रहेको जानकारी दिएका थिए। तर, कति दिन बढाउने भन्ने खुलाएका छैनन्। यसको औपचारिक घोषणा मोदीले नै गर्नेछ्न्।
यता कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले भने दुई हप्तासम्म लकडाउन बढाउने केन्द्र सरकारको तयारी रहेको जानकारी दिएका छन्।
केन्द्र सरकारले दुई साता लकडाउन थपेर अप्रिल ३० सम्म पुर्याउने तयारी गरिरहेका बेला राज्य सरकारहरुले धमाधम लकडाउन बढाइरहेका छन्।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले आआफ्नो राज्यमा लकडाउन बढाइसकेका छन्। यसअघि ओडिशा र पञ्जाबले पनि लकडाउन बढाइसकेको छ। उत्तराखण्ड, हरियाणामा पनि लकडाउन बढाइएको छ।
प्रधानमन्त्री मोदीसँगको भिडियो कन्फ्रेन्समा नयाँ दिल्लीसहित १० भन्दा बढी राज्यका मुख्यमन्त्रीले लकडाउन अप्रिल महिनाभर कायम राख्न माग गरेका थिए।