PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रोहिंग्या भन्छन् - सहयोग पाएनौं भने भोकै मर्छौं, मेयरको जवाफ - जति दिए पनि मागिरहन्छन्



कमलराज भट्ट

रोहिंग्या भन्छन् - सहयोग पाएनौं भने भोकै मर्छौं, मेयरको जवाफ - जति दिए पनि मागिरहन्छन्
फाइल फोटो

काठमाडौं : सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दा सबैभन्दा समस्यामा परे ज्याला मजदुरी गरेर पेट पाल्ने मजदुर वर्ग। ज्यालादारी नेपाली मजदुरसँगै नेपालमा शरण लिएर बसिरहेका रोहिंग्या समुदाय पनि यसको चर्को मारमा पर्‍यो।

म्यानरको उत्तरी रखाइन राज्यबाट विस्थापित भएर ५/६ वर्षदेखि राजधानी काठमाडौंका विभिन्न ठाउँमा आश्रय लिएर बसेका रोहिंग्या समुदायलाई लकडाउनमा छाक टार्ने चिन्ता छ। पूरै देश कोरोनाविरुद्धको लडाईंमा होमिएका बेला बुढानीलकण्ठ नगरपालिकामा बस्ने उनीहरुलाई खाद्यान्न नपाएर भोकै मरिन्छ कि भन्ने चिन्ता पनि छ। त्यसमाथि नगरपालिकाले सोमवारदेखि बाह्य व्यक्तिहरुले दिइरहेको राहतमा रोक लगायो। त्यसले उनीहरुको चिन्ता बढेको छ। यसअघि केही सहयोगी हातहरुले रोहिंग्याको दुई वटा समूहलाई एक साता पुग्नेगरी खाद्यान्न दिएको थियो। त्यो सकिनै लाग्दा अब थप सहयोग नपाए भोकै मर्ने अवस्था आउने रोहिंग्याहरुको चिन्ता छ।

अर्कातिर कोरोनाविरुद्ध सचेतना पनि रोहिंग्या शिविरमा शून्य छ। एकै झुपडीमा ८/१० जना सुत्ने उनीहरुसँग न मास्क छ, न त स्यानिटाइजर। त्यसमाथि खानेपानी समेत पाउन धौ धौ। हात धुन न पानी छ, न त साबुन नै।

बुढानीलकण्ठ ११ कपन राममन्दिर नजिकैको टहरामा बस्ने रदिफ आलमले लकडाउनका कारण छाक टार्न समस्या रहेको बताए। 'वडाबाट पाएको खाद्यान्न सकिँदैछ। अब नदिने भन्ने सुनेका छौं। थप सहयोग पाएनौं भने भोकै मर्छौं,' उनले भने।

उनका अनुसार एक साताअघि वडा र अन्य व्यक्तिको पहलबाट कपन राममन्दिरका ७२ परिवार र लसुनटारमा ७७ परिवारले राहतस्वरुप खाद्यान्न पाएका थिए।

'अस्ति दिएको सकिन लागेको छ। सहयोगको आशमा छौं। तपाईँहरुको सम्पर्कमा कोही भए हाम्रो नम्बर दिनुहोला,' उनले अनुरोध गर्दै भने।

लसुनटार शिविरमा बस्ने सलमा यासले खाद्यान्न सँगै ग्यास र खानेपानीको समस्या रहेको बताइन्।

'ग्यास नपाउँदा दाउरा बालिरहेका छौं। दाउरा पनि सकिँदैछ। बाहिर निस्कन नदिँदा दाउरा बटुल्न पाएका छैनौं। ग्यास किन्न पैसा छैन,' उनले भनिन्, 'खानेपानीको पनि त्यस्तै समस्या छ। किन्न पैसा छैन। राहतमा पानी पाइँदैन।'

लुकीछिपी दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहेका रोहिंग्या समुदायसँग लकडाउनले सबै ठप्प भएपछि औषधि किन्ने पैसा पनि छैन।

'सामान्य ज्वरो आए पनि औषधि किन्न पैसा छैन। हामीलाई अहिले मुख्य चिन्ता खानाकै छ,' सलमाले भनिन्।

मेयर भन्छन् : जति पाए पनि मागिरहन्छन्

बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले रोहिंग्या लगायत समस्या परेका सबै विपन्न वर्गलाई आवश्यक सहयोग गरिने बताए। राहत वितरणका लागि नगरपालिकाले अन्तिम सूची तयार गरिसकेको र वडाले राहत बाँडिरहेको मेयर खरेलले जानकारी दिए। नगरपालिकामा आप्रवासी लगाएर ८ देखि १० हजार मानिस राहतको सूचीमा रहेको उनको भनाई छ।

रोहिंग्यालाई पुल्चोकस्थित संयुक्त राष्ट्र संघीय उच्चायुक्तको नेपाल कार्यालयले सामान्य बाँच्ने आधारका लागि नियमित खाद्यान्न वितरण गर्दै आइरहेको बताउँदै मेयर खरेलले समस्या नै परे आफूहरुले सहयोग गर्ने स्पष्ट पारे। 'तर, जति दिए पनि छैन भन्छन्। पाए पनि छैन भनेर मागिरहन्छन्,' उनले भने। अन्य देशका आप्रवासीलाई उनीहरुको राजदूतावासले हेरिरहेको जानकारी दिँदै खरेलले खाद्यान्नको समस्या हुँदा वडामा गएर नाम टिपाए राहत पाउने बताए।

मेयर खरेलले परिवारका सदस्य हेरेर २५ किलोसम्म चामल, दाल, नुनतेल, तरकारी बाँडिने बताए।

'कोरोना भएकाले सतर्कता अपनाउँदा राहत वितरण अलि ढिलाई भयो। दुई तीनभित्र बाँडिसक्छौं,' मेयर खरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell