PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नेपाली बैंकसँग ऋण लिएर एनसेलले तिर्‍यो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर, आजबाट करको दायित्व पूरा



पहिलोपोस्ट

नेपाली बैंकसँग ऋण लिएर एनसेलले तिर्‍यो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर, आजबाट करको दायित्व पूरा

काठमाडौं : एनसेलले आइतवार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ। दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतवार बाँकी सबै रकम बुझाएको हो।

एनसेलले १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो। यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको छ। 

एनसेलले सुरुमा अग्रिम लाभकर बापत् कूल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो। त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो। 

यो विवादमा सर्वोच्च अदालतले फैसला दिएपछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो। सर्वोच्चको फैसला लगत्तै  एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो। त्यतिबेला एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो। दोस्रो किस्ता बापत् ४ अर्ब ६० करोड बुझाएको थियो। अन्तिम किस्तामा १४ अर्ब ३३ करोड बुझाएको हो। एनसेलले पुँजीगत लाभकर बापत् २३ अर्ब १६ करोड रुपैयाँ सरकारलाई बुझाइसकेको छ।

एनसेलले नेपाली बैंकसँग ऋण लिएर लाभकर तिरेको हो। एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा अन्य बाणिज्य बैंकसँग ऋण लिएको छ। इन्भेस्टमेन्ट, नबिल र ग्लोबल आइएमइ बैंकले ४/४ अर्बका दरले ऋण दिएका छन्।

यसपछि हिमालयन बैंकले साढे २ अर्ब दिएको छ भने सानिमा बैंकले ५० करोड रुपैयाँ ऋण दिएको छ। यो डिलमा एभरेष्ट बैंकले पनि ऋण दिएको छ। एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ दिएको छ।

यसैगरी नेपाल बैंकले तीन अर्ब रुपैयाँ दिएको छ। एनसेलले कुल २० अर्ब ऋण उठाएको हो। सबै बैंकको ब्याज दर समान १०.५ प्रतिशत छ।

बैंकहरुले शुक्रबार नै ऋण स्वीकृत गरिसकेका थिए। आइतबार बिहानै एनसेलले बैंकहरुले दिएको पैसा एभरेष्ट बैंकमा जम्मा गरेको थियो। एभरेष्ट बैंकको चेक काटेर एनसेलले पैसा तिरेको हो। 

'एनसेल सुरुमा नेपाल आउँदा नबिल बैंकले नै ऋण दिएको थियो। त्यसबेला हामीले ग्यारेन्टी ऋण दिएका थियौं,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'नेपालमा राम्रो क्यास फ्लो भएको कम्पनीसँग अहिलेसम्म पनि काम गर्न पाउनु हाम्रा लागि खुशीको कुरा हो। एनसेललाई पैसा आवश्यक परेका बेला सहयोग गर्न पाएकोमा खुशी छौं।'

एनसेलले पुँजीगत लाभकर भुक्तानी गरेपछि लकडाउनका कारण राजस्व संकलनमा कठिनाई भोग्दै आएको सरकारलाई पनि राहत भएको छ। सुरुमा राजस्वको लक्ष्यमा चुकेको सरकार पछिल्ला दिनमा कोरोनाका कारण आर्थिक कारोबार ठप्प हुँदा अझ बढी दबाबमा थियो। 

एनसेलले केही दिन अघिमात्रै सरकारले आह्वान गरेपछि कोरोनाविरुद्ध लड्नका लागि १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell