PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोरोनाको आयुर्वेदिक औषधि बनाउन मोदीले गठन गरे टास्क फोर्स



पहिलोपोस्ट

कोरोनाको आयुर्वेदिक औषधि बनाउन मोदीले गठन गरे टास्क फोर्स

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको कुनै औषधि छैन। विश्वका वैज्ञानिक र वरिष्ठ चिकित्सकहरु औषधिको खोजीमा लागेका छन्। तर, भारत भने आयुर्वेदिक औषधि बनाउनतिर अघि बढेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आयुर्वेदका माध्यमबाट कोभिड १९ को उपचार खोज्न आयुष (आयुर्वेदा, योगा र नेचुरोपेथी, युनानी, सिद्ध र होमियोपेथी) मन्त्रालय अन्तर्गत एक टास्क फोर्स गठन गरेका छन्।

आयुर्वेद र पारस्परिक औषधिको माध्यमबाट कोरोना भाइरसलाई नियन्त्रणमा लिन भारतीय चिकित्सा अनुसन्धान परिषद (आइसीएमआर) जस्ता संस्थानले अनुसन्धान गरिरहेका छन्। टास्क फोर्सले यी संस्थानसँग मिलेर अनुसन्धानलाई द्रुत गतिमा अगाडि बढाउन सहयोग गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

आयुषमन्त्री श्रीपद येसो नाइकले प्रधानमन्त्रीले टास्क फोर्स गठन गरेको जानकारी दिँदै यसले आयुर्वेद र पारस्परिक औषधिको मेडिकल फर्मूलालाई कोभिड १९ विरुद्ध वैज्ञानिक तरिकाबाट प्रयोग गर्न काम गर्ने बताए। 'टास्क फोर्सको उद्देश्य आयुर्वेदिक पद्धतिबाट कोरोना जस्तो खतरनाक रोगको उपचार सम्भव बनाउने हो,' मन्त्री नाइकले भने।

हालसम्म दुई हजार परीक्षण प्रस्ताव आएको बताउँदै उनले थपे, 'यसमध्ये कैयौ सुझावको वैज्ञानिक वैधता जाँच भइसकेपछि त्यसलाई आइसीएमआर र अन्य रिसर्च संस्थानमा पठाइने छ।'

भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दो छ। चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट विश्वमा १० लाख बढी मानिस संक्रमित भइसके पनि अझै औषधि पत्ता लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell