PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोरोनाका बिरामीको प्रतीक्षामा अस्पताल रित्ता, अरु रोग लागेका चाहिँ कहिलेसम्म जोखिममा? [सम्पादकीय]



पहिलोपोस्ट

कोरोनाका बिरामीको प्रतीक्षामा अस्पताल रित्ता, अरु रोग लागेका चाहिँ कहिलेसम्म जोखिममा? [सम्पादकीय]

कोभिड-१९ को संक्रमणबाट बच्नुको विकल्प भनेको सुरक्षित रहनु नै हो, अहिलेका लागि। सरकारले लकडाउन गर्नु र त्यसलाई लम्ब्याउनुको मुल कारण पनि त्यही हो। स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेका मुलुकहरु पनि कोरोना भाइरसको संक्रमण निस्तेज पार्न असफल रहे। यसैका कारण विश्वमा एक लाखभन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन्। हरेक दिन मर्नेको ग्राफ चुलिँदो छ।

सुरुमा अत्याधिक वेवास्ता गरेको सरकारले ढिलै भए पनि कोरोनाको तयारीका लागि युद्धस्तरमा जुट्यो। भएका अस्पतालहरुमा सम्भावित कोरोना संक्रमितका लागि उपचार गर्ने तयारी सुरु भयो। अस्पतालहरुलाई रित्याउने काम सुरु भए। भर्ना भएर उपचार गराइरहेका अधिकांश विरामीहरुलाई अस्पतालबाट डिस्चार्ज गरियो। अस्पताल रित्तो बनाइँदा धेरैजसो अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मी कामविहीन हुन पुगेका छन्। धेरैभन्दा धेरै विरामीको उपचारमा जुट्ने जिम्मेवारी बोकेका उनीहरु यतिखेर डर र त्रासबीच कोरोना पीडित आउलान् र उपचारमा जुटौला भनेर अस्पताल ढुकिरहेका छन्। अहिलेको अस्पतालको परिदृष्य यही हो- सुनसान अस्पताल, विदामा बस्नै नपाउने सरकारी निर्णयका कारण अस्पताल पुगेर कुरिरहेका डाक्टर।

चिकित्सक कामविहीन हुनुको अर्थ विरामी छैनन् भन्ने चाहिँ होइन। कोरोनाको त्रासले भएजति सबै अस्पताल ठप्प पारिँदा सानादेखि ठूला विरामीहरु भने त्रसित अवस्थामा पुगेका छन्। अन्य रोगका उपचार गराउनुपर्ने र निरन्तर 'फलो अप'मा गइरहनुपर्ने विरामीहरु आफ्नै घरमा खुम्चिएका छन्। नियमित डायलासिस गर्नुपर्ने विरामीले पूरा अवधि सेवा पाइरहेका छैनन्। एम्बुलेन्स पाउन गाह्रो, ट्याक्सी चल्दैन, समयमै उपचार पाउन नसक्दा मानिसको मृत्यु पनि भइरहेको छ। अनि पीडितहरुले प्रश्न गर्न थालेका छन् : कोरोनाको उपचार कुर्दाकुर्दै, अरु रोगबाट मर्न छोडिरहने?

लकडाउनको विकल्प छैन भन्नुको मतलब अन्य रोगको उपचारका लागि पनि लकडाउन गरिरहनु कति न्यायोचित? सरकारी अस्पतालमात्र होइन यतिखेर निजी अस्पतालहरु पनि सुनसान छ। विरामी नै नआउनु भन्ने अवस्थामा अस्पताललाई पुर्‍याइएको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले अहिलेको परिस्थितिमा विदा लिन नपाउने निर्देशन जारी गरेको छ। यतिसम्म कि गर्भवती अवस्थाका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत अस्पतालमा उपस्थित हुन उर्दी जारी गरिएको छ। ठीक विपरीत अन्य रोगसँग लडिरहेका विरामीको पीडालाई भने पूरै नजरअन्दाज गरिएको छ।

सरकारी अस्पतालको सिको गर्दै ठूलादेखि साना लगानीमा संचालनमा आएका निजी अस्पतालको पनि हालत उस्तै छ। त्यहाँका चिकित्सकहरु भने यतिखेर आराम गरिरहेका छन्, घरमै। उनीहरु अस्पताल वा क्लिनिक जाने मुडमा छैनन्। कोरोनाको कहरमा उनीहरु पनि सुरक्षित रहन चाहन्छन्। आफूलाई स्टार होटलसँग तुलना गर्ने अस्पतालहरुले मुस्किलले केही वार्ड छुट्याएका छन् - सम्भावित कोरोना संक्रमितका लागि। त्यसबाहेक अरु उपचार ठप्पै पारेर बसेका छन्। जतिसुकै बेड क्षमता भए पनि, जतिसुकै अत्याधुनिक प्रविधि भए पनि ती सबैलाई निस्तेज बनाइएको छ। जसको असर अरु सबैखाले विरामीहरुले भोगिरहनुपरेको छ अहिले।

स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोनामा मात्रै रहने र अरुतिर वेवस्ता गरिरहनु कति न्यायोचित? के कोरोनाका लागि छुट्याइएका अस्पतालका सेवाबाहेक अन्य सेवा निषेध गरिरहन मिल्छ? हामी कोरोनासँग भिडिरहँदा अरु रोगले हामीलाई नराम्ररी संक्रमित गरिरहेको छ। लकडाउन केही समय लम्बिने हो भने त्यससपछि अस्पतालमा लाग्ने भिडलाई कसरी व्यवस्थापन गर्न सक्छ? लकडाउन सकिँदा पनि कोरोनाको संक्रमणको सम्भावना अझै केही महिनासम्म कायम रहन सक्छ। त्यतिखेरको अवस्थालाई व्यवस्थित बनाउने तयारी अहिलेदेखि नै हुन आवश्यक छ।

अहिले पनि विकल्प नभएको होइन। स्वास्थ्य मन्त्रालयले तोकेका कोभिड १९ संक्रमितको उपचार केन्द्र बाहेकका अस्पताललाई व्यवस्थित हिसाबले संचालनमा ल्याउन सकिने आधार हुँदाहुँदै पनि ध्यान पुगेको देखिँदैन। अस्पतालमा अहिले झै कोरोना संक्रमणको सम्भावनाका आधारभूति परीक्षण गरी नियमित स्वास्थ्य सेवा संचालन गर्न सकिन्छ। विरामीको अवस्था हेरी फलो-अपमा रहनुपर्ने विरामीलाई पनि व्यवस्थित र सन्तुलित हिसाबले उपचार सेवा दिन सकिन्छ। यतिमात्र हो कि त्यसका लागि पहिले झै भिडभाड हुन रोक्ने संयन्त्र र कार्यविधि तयार गर्नुपर्छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले तत्कालै निर्णय लिन आवश्यक छ। किनकि लकडाउन अझै कति लामो समय जारी रहन्छ भन्न सकिन्न। त्यतिन्जेल कोरोनाका विरामी कुर्दा कुर्दै अन्य रोगका कारण मानिसहरुको ज्यान नजावस्। कोरोनाको त्रासले उपचारविहीन बन्न कसैले नपरोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell