काठमाडौं : लोकपप सांगीतिक ब्यान्ड नेपथ्यको गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको छ। सन् २००३ मा एल्बम 'भेँडाको उनजस्तो'मा समावेश गीत नयाँ वर्षको अवसरमा दर्शक, स्रोताका लागि उपहार स्वरुप सार्वजनिक गरिएको विज्ञप्तीमा जनाइएको छ।
छोटो अवधिको भएकाले गीतको नाम नै ‘छोटो गीत’ राखिएको छ। एक मिनेट ४९ सेकेण्डको गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका हुन्। नेपथ्यको छैठौं एल्बम ‘भेँडाको ऊनजस्तो’ तयार पार्ने बेलामा डानियल ब्याण्डका बेस गितारिस्ट थिए।
‘कुनै समय श्रोताहरुको मनमा बसेका हाम्रा पुराना एल्बमका गीतहरुलाई पुनः ताजा बनाउँदै त्यसलाई भिडियोका रुपमा प्रस्तुत गर्ने प्रयास स्वरुप यो सुरुवात गरेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्माता संस्था, नेपालयका किरणकृष्ण श्रेष्ठले भने।
श्रेष्ठका अनुसार सार्वजनिक नयाँ भिडियो अष्ट्रेलिया, एडिलेडस्थित एल्दिंगा समुद्र किनारमा खिचिएको हो। आकाश र पानी जोडिएको देखिने क्षितिजमा सूर्यास्त हुँदै गर्दाको दृश्य समेटिएको छ। ब्याण्ड सांगीतिक प्रस्तुतीका लागि अष्ट्रेलिया टुरमा भएकै बेला भिडियो छायांकन भएको थियो।
यो गीतले विश्व मानव समुदायले भोगिरहेको हालको त्रासदी पूर्ण अवस्थालाई पनि प्रतिविम्वित गर्ने भएकाले प्राथमिकतामा राखेर रिलिज गरिएको ब्याण्डका गायक अमृत गुरुङ बताउँछन्।
‘भोली के होला भन्ने अनिश्चयका बीच दिनलाई विदा गर्दै रात निम्त्याइरहँदाको अवस्था यस गीतमा अत्यन्त सरल किसिमले वर्णन गरिएको छ,’ अमृत भन्छन्, ‘यो अवस्थाबाट पार हुने कामना यस गीतमा त्यसैगरि उल्लेखित छ जसरी यतिबेला लकडाउनमा रहेका समस्त मानव समुदायको मनमा कुरा खेलिरहेका छन्।’
गीतको शब्द
घाम डुब्यो साँझ पर्यो
अब छुट्टिने पनि बेला भो
आजको नि पनि बित्यो
यो रात काट्ला नकाट्ला
भोलि आउला या नआउला
फेरि भेट होला नहोला
यो छोटो गीत तिमीलाई
फेरि नभेटेसम्मलाई
यदि फेरि भेटै नभए
साँचिराख्नू सम्झनालाई