PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उपत्यकाका केही क्वारेन्टाइनमा सरसफाइको आवश्यकता, केहीमा पुगेन मापदण्ड



पहिलोपोस्ट

उपत्यकाका केही क्वारेन्टाइनमा सरसफाइको आवश्यकता, केहीमा पुगेन मापदण्ड
फोटो : रासस (फाइल)।

काठमाडौं : सरकारले उपत्यकामा स्थापना भएका विभिन्न क्वारेन्टाइनहरुको स्थालगत अनुगमन गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको नेतृत्वमा शनिवारबाट उपत्यकामा रहेका क्वारेन्टाइनहरुको अनुगमन शुरु भएको हो।

शनिवार पशुपति क्षेत्रमा रहेको धर्मशालामा निर्माण भएको क्वारेन्टाइनको अनुगमन गरिएको थियो भने आइतवार ललितपुर र भक्तपुरका क्वारेन्टाइनको अनुगमन गरिएको छ। भक्तपुरको तेलकोटमा रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनको अनुभगमन गरिएको हो।

यसैगरी ललितपुरमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा खानेपानी तालिम केन्द्र, कृषि विकास बैंकको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा सरसफाइ गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री मानन्धरले बताए। उपत्यकामा ५ सय जनासम्म राख्न सक्ने गरी क्वारेन्टाइन व्यवस्थापन गरिने उल्लेख गर्दै उनले खरिपाटी र पशुपतिको धर्मशालामा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित भएपनि अन्य ठाउँमा स्थापना भएका क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार केही व्यवस्थापन नपुगेको उनले बताए। सरकारलाई बुझाउने प्रतिवेदनमा सोही कुरा उल्लेख गरिने र क्वारेन्टाइनहरुको अवस्था सुधार गरिने उनले बताए।

स्टाफ कलेजमा क्वारेन्टाइन स्थल व्यवस्थापनका लागि भौतिक पूर्वाधार बाहेक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने देखिएको छ। दुई वटा ब्लकमा १ सय १० जनालाई राख्न सकिने भएपनि प्रविधिक हिसाबले करिब १ सय कोठा मात्रै प्रयोग गर्न सकिने प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले बताए। पछिल्लो समय कुनै गतिविधि सञ्चालनमा नरहेकाले क्यान्टिन बन्द रहेको छ। एक कोठामा एक जनालाई राख्न सकिने व्यवस्था भएपनि एउटा तलामा एउटा मात्रै शौचालय रहेको उनले बताए।

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइन भने तयारी अवस्थामा रहेको छ। पहिलो पटक चीनको वुहानबाट ल्याएर १ सय ७५ जना र अन्य मुलुकबाट आएका ९६ जनालाई राखिएको सो क्वारेन्टाइन व्यवस्थानका हिसाबले राम्रो रहेको पाइएको छ। क्वारेन्टाइनमा राखिएका सम्पूर्णलाई बिदाई गरिएपनि अहिले पुनः सरसफाई गर्ने र डिसइन्फेक्सन गर्ने काम भइरहेको सूर्य विनायक ब्यारेकका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताए। सोमवार बेलुकीसम्म पुनः प्रयोगका लागि तयार हुने उनले बताए।

बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा ७० बेड क्षमता छ। जसमा २० वटा अट्याच बाथरुम सहितका कोठा छन् भने ५० वटा सामान्य कोठाहरु रहेका छन्। पशुपतिको धर्मशालामा निर्माण गरिएको क्वारेन्टाइन्को क्षमता ७० बेडको हो। खरिपाटीको तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा २ सय ८ र तेलकोटको क्वारेन्टाइन ३० बेड क्षमताका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell