काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रालिका तर्फबाट एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताए।
सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै उनले त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए। उनले भने, ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन भने हटाउनका लागि सरकार तपाईहरूको साथमा हुन्छ।’
‘तपाइँहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ,’ उनले भने।
उनले उद्योगको तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारको तर्फबाट प्रशंसा व्यक्त गर्दै धन्यवाद दिए।
देउराली जनता फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। उनले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए।