PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आम्दानी भन्दा महत्वपूर्ण स्वास्थ्य, व्यापारमा सापकोटा दम्पतीको यस्तो सतर्कता

आम्दानी भन्दा महत्वपूर्ण स्वास्थ्य, व्यापारमा सापकोटा दम्पतीको यस्तो सतर्कता

प्रवीण रानाभाट/पहिलोपोस्ट


विश्व यतिबेला महामारी बनेर फैलिएको कोरोनाको त्रासमा छ। त्रास र संयमताकै कारण अधिकांश देशहरु लकडाउनमा छन्, नेपाल पनि। देश लकडाउनमा रहेको आज २० औँ दिन। यसबीच सरकारको अनुमतिमै अत्यावश्यक भनिएका सामाग्री र सेवा भने सञ्चालनमै छन्।

विशेषगरी दैनिक उपभोग्य वस्तु र खाद्यान्नका लागि बिहान बेलुकी पसलहरु खुल्ने गरेका छन्। दिनभर शून्य रहने शहरमा बिहान बेलुकी भने व्यापारिक स्थलहरुमा बेग्लै चहलपहल देखिन्छ। यो शनिवार बेलुकी नक्सालस्थित बिन्दवासिनी स्टोर अगाडिको दृश्य हो।

मानिसहरु शारीरिक दूरी कायम गरी लामबद्ध उभिएका थिए। उनीहरु खाद्यान्न लिने पालो पर्खिरहेका थिए। स्टोरको ढोकाबाट केही पर बसेरै आफूलाई आवश्यक सामग्री मागिरहेका थिए। अनि स्टोर भित्र भने एक व्यक्ति व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)मा देखिए। उनी पिपिईको उचित प्रयोगसहित व्यवसायिक सेवामा खटिएका देखिन्थे।

ती व्यक्ति जयराम सापकोटा रहेछन्, बिन्दवासिनी स्टोरका सञ्चालक। उनले लकडाउनका कारण आफ्नो व्यापारिक दैनिकीमा आएको परिवर्तन बारे हामीलाई सुनाए। लकडाउन शुरु हुनुअघि त उनी हरेक बिहान स्टोर खोल्ने गर्दा रहेछन्। राती ८ बजेसम्म पसलमा भ्याइ नभ्याइ हुन्थ्यो रे। तर, लकडाउनपछि भने बेलुकी पाँच बजे बल्ल उनको व्यापार शुरु हुन्छ। करिब ८ बजेसम्म मानिसहरु आउँछन् पसलमा। उनलाई ग्राहकको सेवामा सघाउँछिन् श्रीमती प्रतिमाले।

उनी स्टोरको काउन्टरमा सामान प्याकिङ र हिसाब किताबमा सक्रिय देखिइन्। पिपिईमा थिइन् उनी, पनि। मास्कभित्र सास फेर्दा बाफले चश्माको फ्रेम ढपक्क ढाँकेछ।

‘बाफ जमेर केही देखिँन हौ मैले त,’ उनले गुनासो पोखिन्।

जयरामले मास्क केही मिलाएर लगाउन सुझाव दिए। अनि हामीतर्फ हेरेर मुसुक्क हाँस्दै भने, ‘के गर्नु आफू पनि स्वस्थ रहनै पर्‍यो।’

यति भनेर उनले बाहिर पर्खिरहेका ग्राहकलाई सचेत गराए। भने, ‘पालैपालो है। एक पटकमा दुई जना मात्र भित्र।’

अब त उनका ग्राहक आफै अनुशासित भइसके। पहिले हुल बाँधेर भित्र छिर्नेहरु पनि कसको पहिला पालो? भन्दै सल्लाह गर्छन्। अनि जसको पालो आउँछ उ अघि सर्छन्। ढोकामा राखिएको स्यानिटाइजर लगाउँछन् र भित्र पस्छन्।

त्यही साधारण स्टोरको सचेत प्रयासका केही दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell