PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाली फिल्मको वर्ष २०७६ : निर्माणमा देखियो ह्रास, बनेका फिल्ममा कमेडीको राज



मन्दिरा खत्री

नेपाली फिल्मको वर्ष २०७६ : निर्माणमा देखियो ह्रास, बनेका फिल्ममा कमेडीको राज

नेपाली फिल्म क्षेत्रको लागि वर्ष २०७६ औसत रह्यो। गतवर्षको तुलनामा यो वर्ष निकै कम नेपाली फिल्महरु प्रदर्शनमा आए।  गतवर्ष सय बढी फिल्म प्रदर्शनमा आँउदा यो वर्ष जम्मा पचासको हाराहारीमा फिल्महरु निर्माण भए। जसमा प्रदर्शनमा आएका एकाध फिल्मबाहेक अधिकांश कमेडी जनराका फिल्महरु दर्शकको रोजाइमा परे। त्यस्तै यो वर्षको अन्तिममा रिलिज डेट तय भएका झन्डै आधा दर्जन फिल्महरु कोरोना भाइरसको त्रासका कारण प्रदर्शन भएनन्।

फिल्मको प्रदर्शनदेखि छायांकनसम्म प्रभावित

सरकारले कोरोनाको नियन्त्रणको लागि देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै फागुनको अन्तिम र चैत्रमा प्रदर्शन हुने भनिएका झन्डै आधा दर्जन फिल्मको प्रदर्शन स्थगित भयो। कोरोनाको कारण सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाँउछु २’, फूलमान बल निर्देशित ‘नीर फूल’, सन्तोष सेन निर्देशित ‘प्रेम गीत ३’, निकेश खड्का निर्देशित ‘चप्पली हाइट ३’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’  लगायतका फिल्महरुको प्रदर्शन स्थगित भयो।

त्यसो त कोरोनाको कहरले गर्दा फिल्मको प्रदर्शनमात्र नभएर छायांकन पनि उतिकै प्रभावित भयो। फिल्म ‘ए मेरो हजुर ४’ र ‘दुई नम्बरी’ लगायतको फिल्महरुको छायांकन स्थगित गरिएको थियो। निर्माण टिमले कोरोनाको महामारी नरोकिएसम्मका लागि फिल्मको छायांकन स्थगित गरेका हुन्।      

कमेडी फिल्मको राज

२०७६ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये कमेडी जनराका फिल्म दर्शकको रोजाइमा परे। दर्शकहरुको रोजाइमा मात्र नभएर फिल्मकर्मीहरु पनि ‘कमेडी फिल्म’ यसका ‘सिक्वेल’लाई नै निरन्तरता दिइरहेका छन्। २०७६ सालमा कुन फिल्म व्यापारिक रुपमा सफल भए, कुन भएनन्?  

जात्रै जात्रा

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ जेठमा प्रदर्शनमा आएको थियो। उक्त फिल्म व्यापारिक रुपमा सफल भयो। कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। जात्रै जात्रा २०१६ सालमा प्रदर्शन भएको फिल्म ‘जात्रा’को सिक्वेल हो। यसअघि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’लाई पनि दर्शकहरुले निकै रुचाएका थिए। जात्रै जात्रामा लिड रोलमा थिए अभिनेता विपिन कार्की। यही फिल्मको कारण विपिन यो वर्ष चर्चामा रहे। फिल्ममा विपिन, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन्।

कबड्डी कबड्डी कबड्डी

२०७६ सालको सार्वाधिक कमाइ गर्ने अर्को फिल्म हो ‘कबड्डी कबड्डी कबड्डी’। दयाहाङ राई स्टारर यस फिल्म दशैंको अवसर पारेर प्रदर्शनमा आएको थियो। फिल्म व्यापारिक रुपमा सफल रह्यो। कमेडी जनरामा निर्माण भएको यस फिल्मले दर्शक तथा समीक्षकको मिश्रित प्रतिक्रिया पायो। यो फिल्म ‘कबड्डी’को सिक्वेल हो। अभिनेता दयाहाङ राई वर्षभर यही फिल्मका कारण चर्चामा रहे। उनको अभिनयलाई दर्शकहरुले रुचाए। यही वर्ष दयाहाङ अभिनित फिल्म ‘आपा’ पनि प्रदर्शनमा आयो तर उक्त फिल्म व्यापारिक रुपमा सफल भएन। यही फिल्मबाट अभिनेत्री उपासना सिंह ठकुरीले पनि राम्रो अभिनयको तारिफ बटुलिन। त्यसैले यो वर्ष दयाहाङ र उपासना दुबैको लागि सुखद वर्ष रह्यो। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ, उपासना, कर्मा, विल्शनविक्रम राई, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्।

छ माया छपक्कै

यो वर्ष सार्वाधिक कमाइ गर्ने अर्को फिल्म ‘छ माया छपक्कै’ हो। गत असोजमा प्रदर्शनमा आएको यस फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्मले दर्शक तथा समीक्षकको मिश्रित प्रतिक्रिया पाएको थियो। फिल्मको मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी थिइन्। त्यसो त यो फिल्म केकीको करिअरकै पहिलो हिट फिल्म सावित भएको छ। त्यसैले पनि यो वर्ष केकीको लागि सुखद रह्यो। फिल्ममा केकीसँगै दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल सुपुष्पा भट्टलगायतले अभिनय गरेका छन्।

सेन्टी भाइरस

यो वर्ष सार्वाधिक चर्चामा रहेको अर्को फिल्म हो ‘सेन्टी भाइरस।’ प्रदर्शन अघि फिल्मको जति चर्चा भयो प्रदर्शनपश्चत त्यो चर्चा रहेन। फिल्मको कथा वस्तुलाई दर्शक तथा समीक्षकले खासै रुचाएनन्। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को लगानी रहेको यस फिल्मले ‌औसत व्यापार गर्यो। त्यस्तै सेन्टी भाइरससँगै फागुन ९ मा प्रदर्शनमा आएको दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले भने दर्शक तथा समीक्षकको तारिफ बटुल्यो। सेन्टी भाइरसको तुलनामा आमालाई दर्शकले निकै रुचाए।

जुन फिल्म चर्चामा रहे, तर चलेनन्

पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको थियो फिल्म ‘सेल्फी किङ।’ सेल्फी किङको पहिलो पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भयो। धेरैले फिल्मको कथा जोकरसँग मिल्छ भन्ने अनुमान पनि गरेका थिए। त्यसैले पनि दर्शकहरु यो फिल्म हेर्नको लागि निकै आतुर थिए। तर उक्त फिल्मले दर्शकहरुलाई निराश बनायो। फिल्म रिलिज हुनुपूर्व ट्रेलर र गीतले जुन चर्चा बटुलेको थियो, रिलिजपछि भने त्यही अवस्था देखिएन। कमेडी जनारामा निर्माण भएको यस फिल्मले पछिल्लो समय निर्माण भइरहेका अन्य फिल्मको ट्रेन्डलाई नै पछ्याएको छ। यस फिल्ममा हाँस्य कलाकारको जीवनमा आउने उतारचढाव र भोगाइलाई प्रस्तुत गरेको छ। फिल्ममा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन्।

यो वर्ष एक्सन स्टार विराज भट्ट पनि फिल्म ‘साङ्लो’को कारण चर्चामा रहे। तीन वर्षपछि आफ्नै निर्देशनमा बनेको फिल्म साङ्लोमार्फत नेपाली रजतपटमा कमब्याक गरेका थिए उनले। तर लामो समयपश्चात पर्दामा देखिएका विराजको फिल्म रिलिजपूर्व जुन चर्चामा थियो, रिलिजपश्चात त्यो चर्चा रहेन। साङ्लो व्यापारिक रुपमा सफल हुन सकेन। यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चाण्डकले फिल्ममा डेब्यु गरिन्। दर्शकले उनको अभिनयको भने तारिफ गरे।

प्राय लभस्टोरी फिल्ममा देखिदै आएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’मा फरक भूमिकामा प्रस्तुत भएकी थिइन्। उनी जाइरामा मार्सल आर्ट खेलाडीको रुपमा देखिइन्। उनले यो फिल्मको लागि ८ महिना मार्सल आर्टको प्रशिक्षणका साथै आफ्नो कपाल छोट्याएकी थिइन्। तर यस फिल्मलाई दर्शकले खासै रुचाएनन्। फिल्म समीक्षक रुपमा पनि सफल भएन्।

अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधार’मा गत असोजमा प्रदर्शनमा आएको थियो। दशैंको छेको पारेर प्रदर्शनमा आएको यस फिल्ममा निर्देशक शर्माले आफ्नो छोरा अंकित शर्मालाई डेब्यु गराएका थिए। तर दर्शकहरुले अंकितको अभिनयलाई रुचाएनन्। अंकितको ओपोजिटमा थिइन् अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह। साम्राज्ञीको कारण नै फिल्म चल्नेमा ढुक्क थिए निर्माण पक्ष। तर फिल्म व्यापारिक रुपमा सफल भएन।  

++

वर्ष २०७६ मा प्रदर्शनमा आएको करिब ५५ वटा फिल्म मध्ये मुस्किलले आधा दर्जन फिल्ममात्र व्यापारिक रुपमा सफल भए। यो साल नेपाली फिल्म क्षेत्रमा गतवर्षको जस्तै कमेडी जनराका फिल्म र सिक्वेलहरुले नै बढी प्रथमिकता पाए।

जसमध्ये कतिपय फिल्म त दर्शकहरुले रिलिज भएको पतोसमेत पाएनन्। रातो गलबन्दी, काउसो, रेस, सानो मन, काचुली, सुपर गोर्खे लगायतका थुप्रै फिल्महरुको खासै चर्चा भएनन्। न्यून बजेटको कारण निर्माण पक्ष प्रमोसनमा चुक्दा यी फिल्महरुले चर्चा पाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell