
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन्।
‘नयाँ वर्ष २०७७ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भनेकी छिन्।
शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयासहरू तीव्रताका साथ अगाडि बढेको बताएकी छिन्।
गत वर्ष महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भएको भन्दै उनले देश विश्वव्यापी महामारीको रूप लिएको नोभेल कोरोना भाइरस (कोभिड-१९)को चपेटामा परेको बताएकी छिन्। कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर ‘लकडाउन’ र सामाजिक दुरी कायम गर्नुपर्ने नै देखिएको उनले बताइन्।
उनले भनिन्, ‘यस कठिन घडीमा उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू पुनः एकपटक एकजुट भई अगाडि बढ्न नयाँ वर्षले सबैमा उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’