
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन्। शुभकामना सन्देशमा प्रम ओलीले सरकारको बचाउदेखि कोरोना संकटको अवधिसम्म आफूले तलब नलिने घोषणा गरेका छन्।
उनले ३ गते पछि सरकारले कोरोनाका लागि थप रणनीति अपनाउने बताएका छन्। २१ मिनेट लामो भिडियो सन्देश जारी गर्दै प्रम ओलीले सरकारले सकारात्मक काम गरेकाले नआत्तिन आपिल गरेका छन्।
भारी मनका साथ नयाँ वर्षको शुभकामना
नयाँ वर्ष उल्लासको हुनुपर्ने भएपनि अप्ठ्यारो परिस्थितिमा स्वागत गरेको उनको भनाइ छ।
‘सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ। यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ। संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई संक्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ,’ भिडियो सन्देश जारी गर्दै ओलीले भनेका छन्।
असहज अवस्थाका बीच भारी मनका साथ नयाँ वर्षको शुभकामना दिनु परेको ओलीले बताए। उनले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन शुभकामना दिएका छन्।
कोरोना महामारी नभएको भए विकासको चर्चा
भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको प्रम ओलीको दावी छ।
‘हरेक दुःखका पलहरुमा हामीले तपाईंहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं। आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ,’ उनले भने।
ओलीले नेपालमा महामारी नआएको भए विकासका बारेमा चर्चा गरिरहेको हुने दावी पनि गरे।
‘यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ,’ ओलीको शुभकामना सन्देशमा उल्लेख छ।
ओलीले सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको टिप्पणी गरेका छन्।
धैर्य गर्न आग्रह
ओलीले समयभन्दा भिन्न एक अदृश्य ‘शत्रु’विरुद्ध युद्ध लडिरहेका बताए।
‘यस्तो शत्रु, जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधि अझै आविस्कार भएको छैन,’ ओलीले भने।
ओलीले युद्ध जित्नका लागि भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक रहेको बताए।
‘यस युद्धमा दुरीमा शक्ति छ, दुरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ,’ ओलीले भनेका छन्।
उनले कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य भएको बताए।
रडाको मच्चिएको ठान्नु भुल
उनले सरकारले काम गरेनकी भन्ने लागे पनि नआत्तिन अपिल गरेका छन्।
उनले भने, ‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्। तर, त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ। मन आत्तिएको, भत्किएको बेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ। गरेको पुगेन कि भन्ने लाग्न सक्छ। अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। तर, अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ।’
कोरोना संक्रमण मुक्त बनाउन परीक्षणको दायर बढाइने प्रम ओलीको भनाइ छ।
‘संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यसको परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ,’ ओलीले भने।
उनले सरकारको बचाउ गर्दै कामको परिणाम आउन थालेको दावी गरे।
‘हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणबाट पनि देख्न सकिन्छ,’ ओलीले दावी गरे।
क्षतिको आँकलन शुरु
अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनु पर्ने कदमबारे सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष सर्वेक्षणले देखाएको उनले बताए।
उनले महामारीले सर्वाधिक गम्भीर विश्व आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान गर्न सकिने तर्क गरे।
‘प्रक्षेपण गरिएका तथ्यांकलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितजस्तै छ,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।
महामारीबाट कुल ग्राहस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा नेपालको अर्थतन्त्रमा क्षति पुग्ने भन्ने विभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको ओलीले बताए।
ओलीले कोरोनापछिको क्षतिको आँकलनका लागि सरकारले विभिन्न निकायहरुलाई परिचालित गरिसकेको जानकारी दिए।
बैशाख ३ पछि कोरोनाविरुद्ध थप रणनीति
प्रम ओलीले नेपालमा आउने हप्तासम्म कोरोनाको अवस्था के छ भन्ने पत्ता लाग्ने बताए।
‘आउने हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था छ,’ ओलीको शुभकामना सन्देशमा उल्लेख छ।
ओलीले नयाँ वर्षमा रानीपोखरी उद्घाटनको कार्यक्रम राखिएको भएपनि महामारीले रद्द भएको बताए।
‘धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ। सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ। तर, हामी महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं,’ ओलीले भनेका छन्।
कोरोना संकट अवधिभर तलब नलिने घोषणा
सरकारको ध्यान संक्रमितहरुको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित भएको ओलीले बताए। उनले जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्न आएको सुझावमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।
कोरोनाको संकट नसकिउन्जेलसम्म तलब नलिने घोषणा ओलीले गरेका छन्।
‘कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु,’ उनको भिडियो सन्देशमा भनिएको छ।
वास्तविक पीडितलाई राहत दिन निर्देशन
कोरोना भाइरसबाट प्रभावित हुने सबैको अभिभावकत्व सरकारले लिने उनको धारणा छ। सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने र सँगसँगै रोजीरोटीको जोहो गरिने ओलीले बताए।
उनले भने, ‘सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासंभव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ।’
सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुर्या उन ओलीले निर्देशन दिए। उनको सन्देशमा विदेशमा भएका नेपालीलाई पनि सम्बोधन गरिएको छ।
आधारभूत सुविधा र उपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सम्बन्धित देशसँग संवाद गरेको ओलीले बताए।
सरकार बाहेकको संयन्त्रको आवश्यकता छैन
उनले शुभकामना सन्देशमा संकटको सामनाको नेतृत्व सरकारले गर्ने बताए।
जनताबाट निर्वाचित सरकार नै संकटको सामना गर्ने नेतृत्वदायी संस्था हो,’ ओलीको शुभकामना सन्देशमा उल्लेख छ।
उलने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिइने दावी गरे।