PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नयाँ वर्षमा प्रचण्ड र देउवाको सन्देश : एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ



पहिलोपोस्ट

नयाँ वर्षमा प्रचण्ड र देउवाको सन्देश : एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ

काठमाडौं : कोरोना महामारीका बीच नयाँ वर्षको शुभकामना आदान प्रदान भइरहेको छ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन्।

देउवा र प्रचण्ड दुवैले एकताका साथ काम गरे मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन्।

एकतामा विजय प्राप्त गर्न अपिल

नेकपा अध्यक्ष प्रचण्डले कोरोनाविरुद्धको लडाइमा सफलता मिलोस् भन्ने शुभकामना दिएका छन्। उनले विज्ञप्ति जारी गर्दै नयाँ वर्षको अवसर स्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका हुन्।

प्रचण्डको शुभकामना सन्देशमा सबै वर्गका मानिसमा कोरोनाले समान रुपले आक्रमण गरेको उल्लेख छ। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको खाँचो औल्याएका छन्।

‘नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु,’ शुभकामना प्रचण्डले भनेका छन्।

उनले एकताको बलमा विजय प्राप्त गर्न सरकारलाई अपिल गरेका छन्।

विधि र प्रक्रियाको पालना गर्न आग्रह

कांग्रेस सभापति देउवाले पनि विज्ञप्ति जारी गरी नयाँ वर्षको शुभकामना दिएका छन्। कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निभाइरहेको देउवाले बताएका छन्।

उनले कांग्रेस सरकारमा नरहे पनि सरकारलाई सहयोग गरिरहेको उल्लेख गरे।

‘कांग्रेसले आजको चुनौति सामना गर्न सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको छ,’ देउवाले भने।

युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएको तर विधि प्रक्रियाको पालना गर्न सचेत गराएको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोरोना भाइरसको संक्रमणविरुद्ध सबै जना एकजुट भएर लड्न आवश्यक भएको देउवाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell