PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

संघर्षको मैदानबाटै शुभकामना : हार्दैनौं हामी [सम्पादकीय]



पहिलोपोस्ट

संघर्षको मैदानबाटै शुभकामना : हार्दैनौं हामी [सम्पादकीय]

बाह्र पटक पल्टिएको भित्तेपात्रो फेरिएको छ। आज २०७७ सालको पहिलो दिन। पुराना कामको समीक्षा, कमजोरीलाई सुधार अनि नयाँ उत्साह सहित अगाडि बढ्न प्रेरणा दिने यस दिनलाई भव्य रुपमा स्वागत गर्न सकिरहेका छैन। संसारभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा हामी २०७६ सालका आखिरी महिनाहरुमा तनावपूर्ण अवस्थाबाट गुज्रियौं। नयाँ वर्ष पनि तिनै तनावबीच भित्रिएको छ, समय हो रोकिने कुरै भएन। त्यसैले, हामी यही संक्रमणको मैदानबाट हाम्रा सम्पूर्ण पाठकहरुलाई नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दर्छौं।

अहिलेको पुस्ताले २०७२ सालको भूकम्प पनि बेहोरेकै हो। त्यतिखेर मानिसहरु ओत लाग्ने छत र खानका लागि संघर्षरत रहनुपरेको थियो। ठूलो आर्थिक क्षति पनि उत्तिकै बेहोर्‍यौं हामीले। भूकम्पका धक्काले हामीलाई धेरै समयसम्म हल्लाइरह्यो। हरेक धक्का केही सेकेन्डका रहे। तर धर्ती पनि बाध्य भयो, सधैं हल्लिरहेन। हल्लियो अनि स्थिर पनि भयो। आकलझुकल अहिले पनि हामी परकम्प महसुस गरिहरेका छौं। तर, त्यही संघर्षबाट हामी उभिँदै, बलियो हुँदै अहिलेको अवस्थामा आइपुग्यौं। हाम्रो स्मृतिबाट भूकम्पले दिएका चोटका घाउहरु मेटिँदै गए। लागेका दागहरु अधिकांश हराए। ९ हजार मानिसको ज्यान लिने गरी भएको त्यो क्षण अपेक्षाकृत थिएन, जसरी अहिलेको अवस्था।

विश्वलाई नै आतंकित बनाइरहेको कोभिड-१९ को संक्रमणले हामीलाई नराम्ररी गाँजेको छ। भूकम्पले हामीलाई सडकमा सुतायो, अहिलेको संक्रमणले घरभित्र थुनाएको छ। हामी आफ्नै घरभित्रै समेटिएर नयाँ वर्षलाई स्वागत गरिरहेका छौं। भूकम्पबाट जोगिन हामीले खुला ठाउँमा पुगेर आफूलाई बचायौं। आज खुला ठाउँको भिडबाट हामी बच्नु छ। तर, अवस्था यतिमै सकिएको छैन। मानिसहरु यतिखेरको प्रचण्ड गर्मीमा कालोपत्रे गरिएका सडकमा चप्पल पड्काउँदै हिँडिरहेका छन्। लकडाउनका कारण काठमाडौंमा दुई हप्ताभन्दा बढी थुनिएका उनीहरुलाई घर पुग्ने हतारो छ। नयाँ वर्षको यो शुभ दिनमा पनि सयौं किलोमिटरको दुरी तय गर्न लालाबाला बोकेर मानिसहरु पाइला चालिरहेका छन्। उनीहरुको गन्तव्य दुर छ। हप्तौं हिँड्ने अठोट लिएर हिँडेकाहरुको पीडा व्यक्त गरेर सकिन्न।

एक दिन, यसरी हिँडेकाहरु आफ्नो घर पुग्नेछन्। उनीहरुलाई कुरेर घरमा बसेकाहरु अनि ढुक्क हुनेछन्। संकटपछि मिल्ने त्यो खुशी पनि अमूल्य हुनेछ। त्यो दिनमात्रै उनीहरुको घरमा नयाँ वर्ष आउनेछ। किनकि संक्रमण विरुद्धको युद्ध यतिखेर जारी छ। युद्ध जतिसुकै होस्, कहिँ न कहिँ त्यो सकिने नै छ। र कोरोनाविरुद्धको युद्ध पनि समाप्त हुनेछ।

यति धेरै दिएको विज्ञानले फेरि सफलता पाएको समाचार हामीले यही वर्षमा प्रेषण गर्ने छौं। कोभिड १९ विरुद्धको लडाईमा मानव जातिको जित हुनेछ। यस्ता भाइरसविरुद्धका धेरै युद्धमा सफलता पाइसकेकाले यसपटक फेरि जितमात्र होइन, थप सतर्कता अपनाउने कुराहरु पनि सिकाएको छ हामीलाई।

कोरोना भाइरसले हामीलाई संकटमात्र दिएको छैन, मानवताको पाठ पनि सिकाएको छ। खान नपाउनेहरुलाई सहयोग गर्ने हातहरु यतिखेर सलबलाएका छन्। भोका जनावर र पन्छीहरुलाई दाना दिनेहरु पनि उत्तिकै सक्रिय छन्। २०७७ को उदय भइरहँदा हामीले देखेका यस्ता दृष्यहरुले संकटको सामना गर्न हामी तयार छौं भन्ने अभिव्यक्ति दिइरहेको छ। विज्ञानका आविस्कार त हामी नसकौंला, मानवतामा हामी अब्बल छौं -- संकटको यस घडीमा हामीले देखेको देश यस्तै हो। पीडा छ, संकट छ तर संघर्ष गर्न पछि हट्दैनौं भन्ने संदेश नेपालीहरुले दिएका छन्। सडकै सडक सयौं किलोमिटर तय गर्दै गरेको मानिस होस् या घरभित्रै बसेर जोगिन र जोगाउन तयार व्यक्ति, हरेकले यस्तै सकारात्मक संदेश दिएका छन्।

हाम्रो ज्यान जोगाउन खटिएका चिकित्सक र सुरक्षाकर्मी यही संघर्षको मैदानमा खटिएर नयाँ वर्षलाई स्वागत गरिरहेका छन्। तमाम अभावका वावजुद उनीहरुको मेहनतलाई हाम्रो सलाम छ। उनीहरुविना कोरोनाविरुद्धको युद्ध जित्न असम्भव छ। जब कोरोनाबाट देश मुक्त हुनेछ चिकित्सक र सुरक्षाकर्मीका लागि त्यो नयाँ आरम्भ हुनेछ, नयाँ वर्ष जस्तै।

नयाँ वर्षको यो कठिन अवस्थामा फेरि पनि दोहर्‍याउँ - संकट क्षणिक हुन्छ, खुशी जस्तै। त्यसैले नआत्तिऔं, सचेत रहौं। यसबाट हामी पार हुनेछौं। हाम्रा शैक्षिक संस्थाहरु फेरि पहिलेजस्तै चल्नेछन्। उद्योगधन्दा र रोजगारी फेरि व्युँतिनेछन्। जीवनको गति अहिले जसरी धिमा भएको छ, त्यसले फेरि तीब्र रफ्तार लिनेछ। जसरी भूकम्पपछि हामी उठ्यौं, तीता क्षण भूल्यौं, त्यसरी नै कोरोनामाथि हामी जित हासिल गरेर अगाडि बढ्ने छौं। यतिमात्र होइन अहिले हामीलाई चाहिएको छ - धैर्यता, अनुशासन र आत्मविश्वास। यी तीन तत्व हामीसँग छ भने सबै शुभ हुनेछ। सबैको भलो हुनेछ। जय होस्।

फेरि पनि, हाम्रा पाठकहरुलाई नयाँ वर्ष २०७७ को शुभकामना। मंगल होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell