
मुख्यभूमि चीनमा आइतवार १०८ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार आइतवार ९८ ‘इम्पोर्टेड केस’सहित १०८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको सिन्ह्वाले जनाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपोर्ट अनुसार हइलोङजियाङ प्रान्तमा सात र क्वाङदोङ प्रान्तमा तीन जनामा संक्रमण देखिएको छ। उनीहरुमा स्थानीय रुपमा नै संक्रमण देखिएको हो।
त्यस्तै, आइतवार दुई जनाको मृत्यु भएको छ। उनीहरु दुवै हुवेइ प्रान्तका हुन्। त्यहाँ ९ वटा शंकास्पद केससमेत फेला परेका छन्। यी सबै ‘इम्पोर्टेड केस’ हुन्।
स्वास्थ्य आयोगका अनुसार आइतवार अस्पतालमा कोभिड-१९ का ८८ संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएका छन्। त्यस्तै, अझै अस्पतालमा १२१ जना गम्भीर संक्रमितहरुको उपचार भइरहेको छ।
आइतवारको रिपोर्टसँगै मुख्यभूमि चीनमा एक हजार ३७८ ‘इम्पोर्टेड केस’ दर्ता भएका छन्। जसमध्ये ५११ जना डिस्चार्ज भइसकेका छन्। र, ८६७ जनाको अस्पतालमा उपचार भइरहेका छ। जसमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको छ। आइतवार सम्म मुख्यभूमि चीनमा ८२ हजार १६० संक्रमित केस दर्ता भएका छन्। जसमध्ये एक हजार १५६ जनाको उपचार भइरहेको छ। ७७ हजार ६६३ जना उपचारपछि डिस्चार्ज भइसेका छन्। कोभिड-१९ को संक्रमणबाट मुख्यभूमि चीनमा तीन हजार ३४१ जनाको मृत्यु भएको छ।
आयोगका अनुसार संक्रमितको सम्पर्कमा रहेका भनिएका ९ हजार ६५५ जना स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। त्यस्तै आइतवार एक हजार ९२ जनालाई स्वास्थ्य निगरानीपछि छाडिएको छ।
यसैगरी, आइतवार नै ६१ लक्षण बिनाका केस देखा परेका छन्। जसमध्ये १२ जना बाहिरबाट आएका हुन्। २८ वटा लक्षण नदेखिएका केसहरुलाई ‘कन्फर्म केस’मा राखिएको छ।
आइतवारसम्म चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा एक हजार ४ जनामा संक्रमण देखिएको छ। जसमध्ये चार जनाको मृत्यु भइसकेको छ। त्यस्तै मकाउमा ४५ केस फेला परेका छन्। यता ताइवानमा ३३८ संक्रमित हुँदा ६ जनाको मृत्यु भएको छ। हङकङबाट ३६०, मकाउबाट १३ र ताइवानबाट १०९ जना उपचारपछि घर फर्किएका छन्। चीनमा शनिवार ९९ जना संक्रमित पुष्टि भएको थियो। जसमध्ये ९७ केस ‘इम्पोर्टेड’ हुन्।