PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजका तीन कोरोना संक्रमितसँगै बसेका ११ जनालाई राखियो क्वारेन्टाइनमा



राधेश्याम पटेल

वीरगंजका तीन कोरोना संक्रमितसँगै बसेका ११ जनालाई राखियो क्वारेन्टाइनमा

वीरगंज : वीरगंजमा कोरोना संक्रमण पुष्टि भएकाहरुसँगै बसेका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। आइतवार कोरोना संक्रमण पुष्टि भएका तीन जनासँग बसेका उनीहरुलाई वीरगंजको सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको हो।

उनीहरुको प्रथम चरणको ‘थ्रोट स्वाब’ परीक्षण भइसकेको छ, जसको रिपोर्ट नेगेटिभ आएको थियो। गत बिहीवार वीरगंज-२ छपकैयाको जामे मस्जिदबाट नारायणी अस्पतालको सम्पर्कमा आएका १४ जना जमाती भारतीय नागरिक मध्ये ११ जनामा नेगेटिभ र ३ जनामा पोजिटिभ देखिएपछि ११ जनालाई निगरानीको लागि क्वारेन्टाइनमा राखिएको वीरगंजस्थित नेपाली सेनाको चण्डीप्रसाद गणले जनाएको छ।

गणपति प्रमुख सेनानी मदन राणाका अनुसार संक्रमितसँगै १३ दिनदेखि छपकैयाको मस्जिदमा बस्दै आएका ११ जना तथा अन्य २७ जना गरी कुल ३८ जनालाई सो विद्यालयको क्वारेन्टाइनमा राखिएको बताए। कुल ३८ जनामध्ये १६ जना नेपाली छन् भने २२ जना भारतीय रहेका छन्।

पर्सा प्रहरीले आजै एक नेपाली र एक भारतीय गरी दुई जनालाई क्वारेन्टाइनमा ल्याएको राणाले जानकारी दिए। शनिवार राति पर्साका विभिन्न ठाउँबाट शंकास्पद मुस्लिम समुदायका २६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थियो। जसमध्ये २१ जना भारतीय नागरिक र ५ जना नेपाली रहेका छन्।

एक साताअघि देखि क्वारेन्टाइनमा बस्दै आएका १० जना मध्ये ७ जनाको स्वाब परीक्षण भइसकेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको गणका सेनानी प्रभव शाहले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell