PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

१३ औं संक्रमित वीरगंजमा चिया पसल सञ्चालन गर्थिन्, ३३ जनासँगै फर्किएकी थिइन् लम्की, क्वारेन्टाइनमा १७ जना सँगै थिए



एम बम

१३ औं संक्रमित वीरगंजमा चिया पसल सञ्चालन गर्थिन्, ३३ जनासँगै फर्किएकी थिइन् लम्की, क्वारेन्टाइनमा १७ जना सँगै थिए

धनगढी : कैलालीको लम्कीमा थप एक महिला र रौतहटमा १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभर भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगंजमा परिवारसहित चिया पसल संचालन गरेर बस्दै आएकी उनी चैत १८ गते विहान त्यहाँबाट कैलाली आइपुगेकी थिइन्। श्रीमान, एक नाती र नातिनी र उनी गरि ४ जनालाई लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

उनमा र्‍यापिड टेष्टबाट कोरोना परीक्षण गरिएको थियो। तर उक्त परीक्षणमा संक्रमण नेगेटिभ देखिएपछि उनलाई २८ गतेबाट घरमै बस्न भनी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

उनीसँगै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ५२ जना बसेका थिए। संक्रमित महिला बस्ने कोठामा भने १७ जनालाई राखिएको थियो। २८ गतेबाट भने उनीहरु घरमै बस्दै आएका थिए।

संक्रमितका छोराबुहारी भारतमा बस्छन्। उनलाई उपचारका लागि सुदूरपश्चिम सरकारले कोरोना डेडिकेटेड अस्पताल भनेर तोकिएको सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

संक्रमित महिलाका परिवारका तीन सदस्यलाई फेरि क्वारेन्टाइनमा ल्याइएको छ।

वीरगंजबाट आउँदा विभिन्न जिल्लाका ३३ जना संगै उनी आएको देखिएको छ। प्रहरीले अहिले ती ३३ जनाको खोजी र उनी बसेको क्वारेन्टाइनका १७ जनालाई पुनः क्वारेन्टाइनमा राख्ने कार्यलाई तीब्रता दिएको छ।

वीरगंजबाट आएकी उनमा कोरोना पोजेटिभ देखिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ।

यसअघि दुबईबाट आएका धनगढीका ३४ बर्षिय युवक, उनकी ३४ बर्षिया भाउजु, भारतबाट फर्किएका लम्कीकै २१ र भारतबाटै फर्किएका कञ्चनपुरका अर्का एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell