
काठमाडौं: सरकारले पिसिआर (ल्याब) र आरडिटी (र्यापिड डायग्नोस्टिक टेस्ट)बाट कुल १० हजार ९ सय ८२ जनाको नमूना परीक्षण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको प्रेस ब्रिफिङमा पिसिआरबाट ५ हजार ६ सय ९१ र आरडिटीबाट ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट आजसम्म कुल ५ हजार ६ सय ९१ जनाको परीक्षण गरिएको बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १९ नयाँ परीक्षण भएको छ। ४ हजार ४ सय ३१ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र बाँकी १ हजार दुई सय ६० बाहिर परीक्षण गरिएको हो।
त्यसैगरी आरडिटी (र्यापिड डायग्नोस्टिक टेस्ट) परीक्षण ५२ जिल्लामा सुरु भएको र हालसम्म ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको देवकोटाले बताए। अन्य जिल्लामा पनि परीक्षणको तयारी भइरहेको उनको भनाई छ।
प्रवक्ता देवकोटाले देशभर ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए। उनका अनुसार १ सय ३ जना आइसोलेसनमा छन्। त्यसैगरी आज १४ जना थपिएर देशभर २ सय १९ जना रेडजोनमा छन्।