
ललितपुर: पानीको धारालाई हातले नछोएरै साबुन पानीले मज्जाका साथ हात धुन मिल्नेगरि उपत्यकाभित्र ५० ठाउँ र सिरहामा २५ गरि ७५ ठाउँमा हात धुने स्टेसन (कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन) स्थापना गर्न थालिएको छ।
कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसबाट बच्न साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न नयाँ प्रविधिमार्फत हात धुने स्टेशन स्थापना गर्न लागिएको हो।
यी स्टेशनमा भुईँमा रहेको संयन्त्रलाई खुट्टाले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र दबाउन छोडेपछि पानी आफैं बन्द हुन्छ। कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले वाटरएड नेपालले नछोइकन हात धुन मिल्ने प्रविधि ल्याएको हो।
जावलाखेलमा रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा स्थापना गरेर यसको शुभारम्भ गरिएको हो।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक समारोहबीच आइतबार स्टेशनको उद्घाटन गरे। मेयर महर्जनले कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले यस किसिमको नयाँ प्रविधि ल्याएर विभिन्न स्थानमा स्थापना गर्न लागेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले वाटरएड नेपालसँग भविश्यमा पनि सहकार्य गर्ने बताए।
शुभारम्भ कार्यक्रममा वरिष्ट मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले कोरोना भाइरसबाट लड्ने दुई तरिकामध्ये एउटा नियमित साबुन पानीले हात धुनु रहेको बताउँदै धारालाई नछोएरै हात धुने प्रविधिसहितका हात धुने स्टेशन स्थापनाले कोरोना भाइरस संक्रमण कम गर्न सहयोग पुग्ने बताए।
शहर बजारमा कतिपय मानिसले हात धुने ठाउँको अभाव र साबुन भए पनि पानीकै अभावमा हात धुन नपाइने अवस्थामा वाटर एडले स्थापना गरेको हात धुने स्थानले लक्षित वर्गलाई फाइदा पुग्ने डा. कोइरालाले बताए।
वाटरएड नेपालका कन्ट्री डाइरेक्टर तृप्ति राईले हातको माध्यमबाट सर्ने विभिन्न रोगबाट बच्ने एउटै सरल तरिका हात धुनु रहे पनि करिब १ करोड ४८ लाख मानिससँग हात धुने ठाउँकै अभाव रहेको बताइन्। उनले कोरोनाबाट बच्न मात्र नभई अन्य विभिन्न रोगबाट बच्न साबुन पानीले नियमित हात धुनुपर्नेमा जोड दिइन्।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले ड्यूटीमा खटिएका प्रहरीहरुलाई समेत धारा नै नछोई हात धुने स्थान परिसमा स्थापना हुनु उपयोगी हुने बताए। खुट्टाले टेक्नेवित्तिकै धाराबाट पानी निस्कने भएकाले कुनै व्यक्तिमा कोरोना संक्रमण नहुने भएकाले यसबाट प्रहरी पनि लाभान्वित हुनेमा उनले भनाई छ।
आइतबार नै ललितपुरको लगनखेल बसपार्कमा पनि हात धुने स्टेशन निर्माण गरिएको छ। वाटरएड नेपालका अनुसार एक हप्ताभित्र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५० वटा र त्यसपछि सिरहाको लहान नगरपालिकामा २५ गरि जम्मा ७५ वटा हातले नछोएरै हात धुन मिल्ने स्टेशन स्थापना गरिने छन्।