PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विरामीका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो नि:शुल्क एम्बुलेन्स सेवा



पहिलोपोस्ट

विरामीका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौं: काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मृगौलालगायत रोगका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि सोमवार संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौंसँग सम्झौता गरेको हो

महानगरका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवर्द्धन सापकोटाले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच वटा एम्बुलेन्सले २४ सैं घण्टा सेवा दिनेछन्। त्यसका लागि एम्बुलेन्स सेवालाई महानगरले आर्थिक सहयोग गर्नेछ।

लकडाउनको समयमा हृदयघात, मृगौला लगायत रोगबाट विरामी हुने महानगरबासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन नि:शुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको महानगरले जानकारी दिएको छ।

‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘सम्भावित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि महानगरले हटलाइन नम्वर ११८० को व्यवस्था गरेको छ।’

सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्वुलेन्स चलाउन पाउने छैन।

त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका विरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधि गरी प्रमाणित गर्नु पर्नेछ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग थप भाँडा दस्तूर वा सेवा शुल्क लिन पाइने छैन,’ सम्झौतामा उल्लेख छ, ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको विरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन जान आनाकानी वा मोलतोल गर्न पाइने छैन।’

यसरी सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा बाहिर २ किलोमिटरसम्म निःशुल्क सेवा दिनु पर्नेछ। तर, २ किमिभन्दा बढीको दुरीमा यात्रा गर्नुपर्दा सम्बन्धित विरामीले नेपाल सरकारको नियमानुसार दूरीको आधारमा भाँडादर तिर्नुपर्नेछ।

‘निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरी सेवा प्रदान गर्नुपर्नेछ। यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता दिनुपर्नेछ,’ सम्झौतामा उल्लेख गरिएको छ, ‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ वटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राख्नु पर्नेछ। कुनै प्राविधिक त्रुटी छ भनी सेवा संचालनमा अवरुद्ध गर्न पाइने छैन।'

एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिनेछन्।

कामपाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि महानगरकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि १०२ नम्बरमा सम्पर्क गर्न सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell