PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भारतीय मिडियाले 'पक्राउ गरिसकेका' जालिम मियाँ कहाँ छन्?



राधेश्याम पटेल

भारतीय मिडियाले 'पक्राउ गरिसकेका' जालिम मियाँ कहाँ छन्?

वीरगंजः केही दिनदेखि भारतीय मिडियामा जालिम मियाँ चर्चामा छन्। जालिम अर्थात् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष। भारतमा कोरोना संक्रमित व्यक्ति पठाएको हल्लाले त्यहाँका सञ्चारमाध्यम रंगिएका छन्। र मिडियाको निशानामा परेका छन् जालिम नै।

एसएसबी ४७औँ बटालियन पन्टोका, रामगढवाले भारत, बिहार पश्चिम चम्पारणका जिल्ला अधिकारी कुन्दन कुमारलाई पठाएको गोप्य सूचनाको हवला दिएर मियाँमाथि भारतीय मिडियाले निरन्तर प्रहार गरिरहेका छन्। भारतीय मिडियाले मियाँमाथि कोरोना संक्रमित भारत पठाएको आरोप मात्रै लगाएनन् हतियार तस्करको पनि आरोप लगायो। आरोपको श्रृंखला यत्तिमै सीमित भएन। सोमबार त अचम्मकै समाचार प्रकाशित भयो। 

समाचार थियो -मियाँलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो।

मिडियाहरुको दाबी थियो, वीरगंजभन्दा ४० किलोमिटर पश्चिममा रहेको घर र मस्जिदमा प्रहरीले छापा मार्‍यो र १५ देखि २० जनालाई नियन्त्रण्मा लियो। पक्राउ पर्नेमा जालिम पनि थिए।  तर त्यो समाचार मिथ्या थियो।

कहाँ छन् मियाँ?

भारतीय मिडियाले 'पक्राउ परेको दावी' गर्दै समाचार प्रसारण गरेपछि सबैको चासोको विषय बन्यो, मियाँ कहाँ छन्?

वीरगंज पावरहाउस नजिक कादम्बरी स्कुलको दक्षिणमा छ जालिमको निवास। घरको वरपर ५ फिट अग्लो पर्खाल, आँगनमा एउटा सिसौको रुख र एउटा बोलेरो गाडी। परिवारका सदस्यलाई खबर गरेपछि उनी भेट्न बाहिर आए।

भेट्न बाहिर आएका मियाँको अनुहारमा चिन्ता देखिन्थ्यो। आफू नै पक्राउ परेको समाचारसँग सुनेपछि अचम्मित रहेछन् मियाँ।

हाँस्दै भने, ‘सबै खत्तम पारे। तिललाई पहाड बनाउँदा रहेछन्। मलाई थाहा भयो।’

कुराकानीको बीचबीचमा फोन बजिरह्यो। घटनाक्रमलाई आफूविरुद्धको षड्यन्त्र भएको उनको बुझाई छ।

घटनाक्रम सम्झाउँदै उनले भने, ‘भारतका टेलिभिजन कराइरहेका छन्, जालिम मियाँ चोर हो। फटहा हो। कोरोना बम पठाउँदै छ। गाँजा, अफिम र हतियारको तस्करी गर्छ’, उनले अगाडि थपे, ‘तपाईँहरु देखिरहनुभएको छ, म आफ्नो घरमा बसिरहेको छु। यदि अपराधी हो भन्ने नेपाल सरकारको रेकर्डमा कुनै न कुनै जानकारी त होला। नेपालमा मात्र होइन भारतको जेलमा पनि सजाय भोग्न तयार छु। यदि आरोप सही सावित भयो भने।’

भारतीय मिडियाले लगाएको आरोप निराधार र मिथ्या भएको उनले बताए। उनले घटनाबारे नेपालका सुरक्षा अधिकारीलाई जानकारी गराइसकेको पनि बताए। अफवाह फैलाउने दोषीलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग समेत गरेका छन् उनले।

सुरक्षाकर्मीको निगरानी

भारतीय सञ्चारमाध्यमले मियाँलाई मोस्ट वान्टेड सूचीमा राखेका छन्। नेपालमा मियाँको सुरक्षाबारे सतर्कता अपनाइएको छ। पर्सा प्रहरीका प्रवक्ता डिएसपी वीरेद्रबहादुर शाहीले उनको सुरक्षा निगरानी बढाइएको बताए।

‘अहिलेको अवस्थालाई मध्यनजर राख्दै ३/४ जना सादा पोशाकका सुरक्षाकर्मीको निगरानीमा उहाँ हुनुहुन्छ', शाहीले भने, ‘गाउँपालिका अध्यक्ष भएको नाताले पनि सुरक्षा उपलब्ध गराउनु हाम्रो दायित्व हो। स्थानीय सुरक्षा समितिको निर्देशन अनुसार सुरक्षा उपलब्ध गराएका हौँ।’

को हुन् मियाँ, कसरी उदाए राजनीतिमा?

मियाँ पर्साको जगरनाथपुर गाउँपालिका ४ जगरनाथपुर टोलका स्थायी बासिन्दा हुन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सोही स्थानका हुन्। कक्षा ७ सम्म पढेका उनी २०२९ सालमै गाउँ पञ्चायतको बेला प्रधानपञ्च निर्वाचित भएका थिए।

त्यसपछि नेपाली कांग्रेसमा लागेर महाधिवेशन प्रतिनिधिसम्म भए। जनयुद्धका बेला उनले माओवादीविरुद्ध अभियान पनि चलाएका थिए। विगतमा काठ तस्करी, गाँजा तस्करीलगायतका गतिविधिमा संलग्न भएको आरोप खेपेका मियाँ शान्ति सम्झौतापछि पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा टोपबहादुर रायमाझीको पहलमा माओवादीमा प्रवेश गरेका थिए।

जगरनाथपुरमा मुस्लिम एकीकृत मतले विजयी भएर अहिले मियाँ गाउँपालिका हाँक्दै आएका छन्। छपकैयमा पनि उनको घर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell