
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमण फैलिँदो क्रममा उदार बन्ने छुट नभएको बताएका छन्। 'संस्थागत निर्णय चाहिँ मन्त्रिपरिषदबाट हुने छ,' ढकालले योहो टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन् ,'आज ११ बजे मन्त्रिपरिषद बोलाइएको छ।'
लक डाउनले दैनिकी कठिन बनिरहेको परिस्थितिमा उनले तीनवटा आधार पेश गरेर लक डाउन लम्बिने संकेत गरे। 'लकडाउनको अवस्था हेर्दा तीन पक्षलाई हेर्दा निष्कर्षमा पुगिन्छ,' स्वास्थ्य मन्त्री ढकालले भने।
उनले विश्व परिस्थिति, भारतको अवस्था र नेपालमा आन्तरिक संक्रमण (लोकल ट्रान्समिसन) देखिसकेकाले उदार बन्न छुट नभएको तर्क गरे। उनको भनाइले लकडाउन थपिनेमात्र होइन, थप कडा हुने र धेरै दिनको हुने पनि संकेत गर्छ।
'विश्व परिस्थितिमा हेर्दा संक्रमितको संख्या २० लाख पुग्न लागेको छ, १ लाखभन्दा बढिको ज्यान गइसक्यो। त्यो घटेको छैन,' उनले भने, 'दोस्रो छिमेकी मुलुक भारतमा यो क्रमश: आक्रमक भएर गइरहेको छ। भारतमा बढ्नु सबैभन्दा खतरनाक हो हामीलाई। नेपालमा बढे भारतमा जोखिम र भारतमा बढे नेपालमा जोखिम हुन्छ।'
तेस्रो आधार चाहिँ उनले सुदुर पश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा स्थानीय संक्रमण देखिनुलाई आधार मानेका छन्। काठमाडौंमा पनि थप संक्रमण देखिएकोले उदार बन्ने छुट नभएको मन्त्री ढकालको तर्क छ।