काठमाडौं : हरेक दिन १० हजार गाडी बाहिरिने नाका नागढुङ्गा यतिखेर सुनसान छ। फराकिलो सडकमा देखिन्छन् त प्रहरीमात्रै। फाट्टफुट्ट आइपुग्ने गाडीसँगै सक्रिय भइहाल्छन् - सुरक्षाकर्मी र ट्राफिक प्रहरी। गाडी रोकिन्छ अनि लिइन्छ जानकारी।
लकडाउनको समयमा सरकारले अत्यावश्यक सवारीबाहेक अन्यलाई चल्न दिएको छैन। त्यसैले थानकोटबाट दैनिक साढे २ सय हाराहारीमा मात्र सवारीसाधन बाहिरिएका छन्। जति बाहिरिन्छन् सबैको रेकर्ड राख्न थालिएको छ।
नाकाबाट काठमाडौं बाहिरी जाने सवारीमा मानिस चढेको भेटियो भने प्रहरीले उनीहरुको तथ्याङ्क चाहिँ लिन्छ, कहाँ जाँदैछन् भन्ने जानकारीहरु पनि राख्छ। निषेध गर्दागर्दै पनि मानिसहरु बाहिरिरहेका छन्। तर, तिनलाई समातेर राख्ने व्यवस्था भने प्रहरीले गर्न सकेको छैन। त्यसैले औपचारिक हिसाबले प्रहरीले चेक कडा गरेको छ, मानिसलाई जान दिएको छैन। हामी नागढुङ्गा पुग्दा प्रहरीको हालत जे देख्यौं त्यसले प्रस्टियो - हुलका हुल जानेहरुलाई रोकुन् भने पनि प्रहरीले राखुन् कहाँ?
तर, यति चाहिँ पक्का हो - प्रहरीले नाका कडा बनाएको छ। जानेमा अनदेखा गरे पनि आउनेलाई भने निषेध कडा रुपमा लागू छ।
प्रहरीले नाकाबाट बाहिरिने सवारीको नम्बर, सिटमा भएका मानिसको संख्या उतार्छ। केहीगरी त्यही गाडी उपत्यका फर्कियो भने त्यो सूची भिडाउन थालेको छ। 'प्रविधिमैत्री नहँदा समस्या त छ। तर, पनि हामीले रेकर्ड बुक पल्टाएर नै हेर्ने गरेका छौं,' प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हेमन्त थापाले भने।
हामी पुग्दा उनी नाका आफैँ सक्रिय देखिएका थिए।
अहिले कम मात्रमा सवारी चल्दा प्रहरीलाई रेकर्ड हेर्न खासै समस्या परेको छैन। फर्किँदा अरु मानिस ल्याउने आशंका बढेपछि रेकर्ड राख्न थालिएको हो। तर, गएको र फर्किएको मानिस त्यही हो हैन भन्ने छुट्याउने कसरी त?
प्रहरीका अनुसार नाकाबाट मानिसहरु जथाभावी ओहरदोहर गर्न दिइएको छैन। अति आवश्यकबाहेकका गाडी भित्रन रोक छ। 'हामीले यस्ता सवारीमा अरु मानिस चढे ओराल्ने गरेका छौं,' थापाले भने।
तरकारी र खाद्यान्न ल्याउने गाडीमा पनि चालक र सहचालक मात्र आउन पाउँछन्।
'यस्ता गाडीमा पनि दुई जनाबाहेक अरुलाई निषेध छ,' उनले भने।
हामी यहाँ पुग्दा केही खाद्यान्न बोकेर काठमाडौं छिर्दै गरेका साना गाडी त देख्यौं तर ठूला ट्रकहरु भने देखिएन। काठमाडौं भित्रिरहेका गाडीमा दुईजनामात्र देखिएका थिए। काठमाडौंबाट बाहिरिनेमा ठूला ट्रकहरु धेरै थिए। तिनमा केही मानिसहरु पनि चढेको देखियो, जो लकडाउनको क्राइसिसबाट उम्केर आफ्नो ठाउँ जाँदै थिए। काठमाडौंले पाल्न नसक्ने अनि प्रहरीले समाएर राख्न नसक्ने भएपछि यतिचाहिँ प्रस्टियो - ट्रकभित्र खाँदिएर जानेहरु गइरहेका छन्, प्रहरीले अनदेखा गरिरहेको छ। र, भनिरहेको छ , 'आवत् जावत् पूर्ण निषेध छ।'