
काठमाडौं : कोरोना भाइरस डिजिज (कोभिड-१९)को प्रभाव विश्वका करिब १८५ देशमा फैलिएका छन्। पान्डेमिकको रुपमा देखिएको कोभिड-१९ का कारण विश्वभर नै विभिन्न क्षेत्र प्रभावित भएका छन्।
यस्ता छन् कोभिड-१९ को विकसित मुख्य घटनाक्रम :
संक्रमितको संख्या २० लाख नजिक
जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्। युनिभर्सिटीले आधिकारिक तथ्यांक र मिडिया रिपोर्टको आधारमा संख्या निर्धारण गर्ने गरेको छ। कोभिड-१९ का कारण हालसम्म १ लाख १९ हजार ६६६ जनाको मृत्यु भएको छ।
फ्रान्स आगामी १ महिनासम्म लकडाउनमै रहने
फ्रान्समा आगामी मे ११ सम्मको लागि लकडाउनको अवधि थप गरिएको छ। राष्ट्रपति इम्मानुयल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।
उनले महिना दिनपछि स्कुलहरु खुल्ने पनि बताए। पर्यटनलगायतका कोरोनाबाट प्रभावित क्षेत्रको सहयोगका लागि योजना तयार पार्न लागेको भन्दै उनले कम्पनी तथा कामदार लक्षित राहत बढाइने बताए।
ब्राजिलमा रिपोर्ट गरिएभन्दा धेरै संक्रमित भएको आशंका
ब्राजिलमा सरकारले आधिकारीक रुपमा रिपोर्ट गरेको भन्दा झण्डै १२ गुणा बढी संक्रमित हुन सक्ने बताइएको छ। ज्यादै न्यून परीक्षण र नतिजा आउन लामो समय लाग्ने कारणले ब्राजिलमा रिपोर्ट गरिएको भन्दा बढी संक्रमित हुन सक्ने एक अध्ययनले देखाएको छ।
मास्कको प्रयोग सामान्य बन्दै
भाइरसविरुद्धको सतर्कताका रुपमा मास्कको प्रयोग सामान्य बन्ने विज्ञहरुले बताएका छन्।
विश्व स्वास्थ्य संगठनका कोभिड-१९ दूत डा डेभिड लबार्रोले भने, ‘मास्क अथवा कुनै पनि प्रकारको मुख ढाक्ने कुराको प्रयोग अब सामान्य बन्दै छ। यसले कमसेकम मानिसहरुलाई सुरक्षाको प्रत्याभुति दिनेछ। तर, मास्क लगाउँदैमा जे पनि गर्न पाइन्छ भन्ने चाहिँ नसोचे हुन्छ।’
बेलायतले गुमायो ठूलो मात्रामा मास्क किन्ने अवसर
बेलायतले इयू योजनामार्फत ठूलो मात्रामा मास्क तथा पिपिई खरिद गर्ने तीन वटा अवसर गुमाएको छ। उसले भविष्यमा खरिद गर्ने नगर्ने विषयको बहसमा पनि सहभागी नहुने भएको छ। कोरोना भाइरसबाट स्वास्थ्यकर्मी तथा अग्रपंतिमा काम गर्नेहरुलाई जोगाउन दबाव बढिरहँदा बेलायतले यस्तो मौका गुमाएको हो।
इटालीमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
इटालीमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या सोमवार ५६६ ले बढेको छ। उक्त संख्या आइतवारको तुलनामा १३५ ले बढी हो। योसँगै मृत्यु हुनेको कुल संख्या २० हजार नाघेको छ। पछिल्लो पटक मृत्यु हुनेमध्ये आधाजति कोरोनाको अत्याधिक प्रभावित क्षेत्र लोम्बार्डीका रहेका छन्।
बेलायतमा मृत्यु हुनेको संख्या ११ हजार बढी
बेलायतमा ११ हजार ३२९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। त्यहाँको स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ७१७ जनाको मृत्यु भएको हो।
नेपालमा हालसम्म १४ जना संक्रमित
नेपालमा ५ हजार ६९१ जनामा कोरोना परीक्षण गरिएकोमा १४ जनामा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १०३ जना आइसोलेसनमा छन्। संक्रमितमध्ये एक जना निको भइसकेका छन् भने हालसम्म नेपालमा कोभिड-१९ का कारण कसैको पनि मृत्यु भएको छैन।