PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आर्थिक क्षतिसँग भारतीयको ज्यानको तुलना हुँदैन : मोदी



पहिलोपोस्ट

आर्थिक क्षतिसँग भारतीयको ज्यानको तुलना हुँदैन : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाईंमा सामाजिक दुरी र लकडाउने देशलाई ठूलो लाभ मिलेको बताए।

'यद्यपि, आर्थिक रुपमा ठूलो क्षति होला। तर, भारतवासीको ज्यानका अगाडि यसको कुनै मूल्य छैन,' उनले भने।

भारत जुन मार्गमा चलेको छ त्यसको विश्वमा पनि चर्चा हुनु स्वभाविक भएको उनको भनाई छ।

मोदीले लकडाउन र सामाजिक दुरीको लक्ष्मण रेखा पालना गर्न पनि आग्रह गरे।

'पूरा निष्ठाका साथ ३ मे सम्म लकडाउन पालना गर्नुस्। जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस्। हामी कोरोनालाई जित्नेछौं,' उनले भने।

कोरोनाविरुद्ध भारतको लडाईं मजबुतीका साथ अगाडि बढिरहेको र जनताको साथले भारत कोरोनालाई रोक्न धेरै हदसम्म सफल भएको मोदीको भनाई छ।

'तपाईंहरुले कष्ट सहेर आफ्नो देश, भारत वर्षलाई बचाउनुभयो। अनुशासित सिपाहीजसरी कर्तव्य निभाउनुभयो। म कदर गर्न चाहन्छु,' मोदीले भने।

ठूला राष्ट्रको कोरोना संक्रमणको तथ्यांक हेर्दा भारत धेरै राम्रो अवस्थामा रहेको जिकिर गर्दै मोदीले थपे, 'एक महिना पहिला भारतजस्तै अवस्थामा रहेका विभिन्न देशमा ३० प्रतिशतसम्म संक्रमण बढेको छ।'

'भारतले होलिस्टिक, इन्टोग्रेटिक एप्रोच नअपनाएको भए, समयमा तेज फैसला नलिएको भए भारतको स्थिति आज के हुन्थ्यो सोच्दा पनि आङ सिरिङ्ग हुन्छ। हामीले उठाएका कदम आजको स्थितीमा ठीक छ,' उनले भने।

भारतमा मे ३ सम्म थपियो लकडाउन

भारतमा लकडाउन मे ३ सम्म थपिएको छ। मंगलबार विहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप १८ दिन बढाउने घोषणा गरेका हुन्।

भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा घोषणा गरिएको छ। त्यसको अवधि आजै सकिन लाग्दा मोदीले थप १८ दिन बढाउने घोषणा गरे।

मोदीले राज्य र नागरिकस्तरबाटै लकडाउन बढाउन सुझाव आएको पनि बताए।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए। केही राज्यले आफै लकडाउन बढाइसकेका छन्।

भारतमा हालसम्म कोरोनाबाट ९ हजार ३ सय ५२ संक्रमित भइसकेका छन्। ३ सय २४ जनाको ज्यान गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell