PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सनसिटी अपार्टमेन्टबाट अभिनेत्री बेनिशा हमाल : अब ढुक्क बस्ने अवस्था रहेन



पहिलोपोस्ट

सनसिटी अपार्टमेन्टबाट अभिनेत्री बेनिशा हमाल : अब ढुक्क बस्ने अवस्था रहेन

काठमाडौं : अभिनेत्री बेनिशा हमाल मार्चको १८ तारिखमा भारतबाट नेपाल फर्किइन्। कोरोना भाइरस माहामारीविरुद्ध सचेत रहेकी उनले १४ दिन आफैलाई सेल्फ क्वारेन्टाइनमा राखिन्। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा। त्यहाँ उनी आफ्नी फूपु र भाइसँग बस्दै आएकी छिन्।

विश्व स्वास्थ्य संगठनले नै १४ दिनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिने बताएको छ। त्यसैले १४ दिने सेल्फ क्वारेन्टाइनमा रहँदा कोभिड-१९ को लक्षणसँग मिल्दो कुनै समस्या देखिएन र उनी ढुक्क भइन्। तर, अपार्टमेन्ट बाहिर निस्कने र यता उता गर्ने काम भने गरिनन्। नियमित व्यायम अपार्टमेन्टमै जारी राखिन्। साथीहरुसँग भर्चुअल भेटघाट।

'मेरो फूपुले लकडाउनलाई 'स्ट्रिक्टली' पालन गराउनु भएको छ। अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएका थिएनौं', उनले सुनाइन्।

वैशाख ३ गतेपछि भने लकडाउन खुल्ला भन्ने अनुमान थियो उनीहरुको। किनकि नयाँ केस केही दिनसम्म देखिएको थिएन। देखिएकोमध्य पनि प्राय आयातित संक्रमण थिए। स्थानीय तहमा फैलन सुरु भइसकेको थिएन। तर लकडाउनका लागि तोकिएको अवधि समाप्त हुनुभन्दा ठीक दुई दिन अगाडि उनी बसेकै अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक भयो।

'पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल पठाइएको छ। चैतको पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको र्‍यापिड टेस्टमा कोभिड १९ पोजिटिभ देखिएको हो।'

त्यसपछि बेनिशा र उनको परिवारमा मात्र होइन अपार्टमेन्ट वरपरसम्म त्रास फैलियो। 'हामी नआत्तिने कुरै भएन। प्यानिक भयौं', उनले सुनाइन्। फूपुले गाली गरेरै ढोकाबाट बाहिरन निस्कन नदिएको सम्झिइन्। धन्य महसुस गरिन्।

तर, अपार्टमेन्टको कुन चाहिं ब्लकमा हो? आफूहरुभन्दा कति टाढा? भन्ने बारे चाहिं खोजिरहिन्। आफूहरुभन्दा ६ ब्लक पर रहेको थाहा पाएपछि भने आरामको सास फेरेको सुनाउँछिन् उनी।

वैशाख १ गते साँझ खबर सार्वजनिक भए लगत्तै अपार्टमेन्टलाई तत्काल सिल गरिएको बताउँछिन् उनी। हरेक साँझ चोक आसपास देखिने भिडभाड पनि देखिएन। तरकारी लगायत सामाग्री किन्न आउनेदेखि 'हावा खान' भन्दै निस्कनेहरुको चहलपहल कम भयो। चारैतिर सुरक्षाकर्मी तैनाथ भए। मानिस सतर्क भए।

भन्छिन्,'आफ्नै ठाउँमा कोरोना संक्रमण देखिएको आशंका छ। अब त न काठमाडौंमा छैन भनेर ढुक्क हुने अवस्था छ न १४ दिनसम्म लक्षण देखिएन भनेर चुप लाग्नै सकिन्छ। उहाँहरु आएकै २५ दिन भइसकेको रहेछ।'

बेनिशाले हालसम्म कुनै परीक्षण गराएकी भने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell