PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

रौतहटका संक्रमितलाई लक्षणविनै देखियो कोरोना, दिल्लीदेखि हिँडेरै उनीसँगै नेपाल आएका थिए अन्य तीन



प्रकाश भण्डारी

रौतहटका संक्रमितलाई लक्षणविनै देखियो कोरोना, दिल्लीदेखि हिँडेरै उनीसँगै नेपाल आएका थिए अन्य तीन
चिकित्सकहरुको फाइल फोटो।

काठमाडौं : रौतहटमा भेटिएका १९ वर्षीय कोरोना संक्रमित किशोरलाई अहिले वीरगंन्जको नारायणी अस्पतालमा राखिएको छ।

उनको रौतहटमै उपचार गर्न नसकिएपछि वीरंगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका किशोरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‍परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयले यसबारे हिजो जानकारी गराएको थियो।

इशनाथ नगरपालिका वडा न ८ का १९ वर्षीय किशोर भारतको दिल्लीबाट चैत १७ गते नेपाल आएका हुन्।

उनले हिँडेरै सीमा पार गरेको इशनाथ नगरपालिमा रहेको क्वारेन्टाइनका इन्चार्ज राजुल खानले जानकारी दिए।

'दिल्लीको झोला कारखानामा काम गर्ने उनी र अरु तीन जना हिँडेरै आएका हुन्। गाउँमा आएपछि हामीले क्वारेन्टाइनमा राखेका हौं,' खानले भने।

उनीसँगै चारजना नेपाल आएकोमा ३ जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ।

कोरोना संक्रमित किशोरका परिवारका १२ जनाको र्‍यापिड टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको इशनाथ नगरपालिकाका उपमेयर हुशेन आराले जानकारी दिइन्।

'परिवारसँग एक दिन बसेको हो। पछिल्लो दिन हामीले उसलाई क्वारेन्टाइनमा राखेका हौं। उसले बाहिर हिँड्डुल गर्न पाएको छैन,' उनले भनिन्।

उनका अनुसार संक्रमित किशोरलाई संक्रमणको कुनै लक्षण देखिएको थिएन।

कोरोना संक्रमित किशोरका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिङ सकिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

संक्रमितको सम्पर्कमा आएका ३९ जनाको कोरोना परीक्षण गरिएको छ। २५ जना रहेको क्वारेन्टाइनमा अरु २४ जनामा पनि कोरोना देखिएको छैन।

२४ जनाको फेरि पनि कोरोना परीक्षण गरिने खानले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell