PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्ट्यान्डवाई छन् सबै हेलिकप्टर, कोरनाविरुद्धको अभियानमा कुनै पनि बेला उड्न तयार



वसन्तराज उप्रेती

स्ट्यान्डवाई छन् सबै हेलिकप्टर, कोरनाविरुद्धको अभियानमा कुनै पनि बेला उड्न तयार

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको अभियानलाई बलियो बनाउन निजी क्षेत्रका हेलिकप्टरलाई स्ट्यान्डवाइ रहन निर्देशन दिएको छ।

स्वाब संकलन र मेडिकल उपकरण ल्याउने पुर्‍याउनका लागि सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘आवश्यक परेको गन्तब्यमा जान उहाँहरु पूर्ण रुपमा तयार हुनुहुन्छ। हामीले स्वास्थ्य सुरक्षाको अवलम्बन गर्दै उडान गर्न निर्देशन दिएका छौँ,' पोखरेलले भने, 'उहाँहरुले यो उडानमा पीपीई, स्यानिटाइजर, मास्क, ग्लोभ्स लगायत आवश्यक स्वास्थ्य सुरक्षा पालना गर्ने प्रतिवद्धता जनाउनुभएको छ।‘

स्वाब संकलन र मेडिकल सामाग्री ल्याउन पुर्याउनका लागि निजी हेलिकोप्टर कम्पनी तयार भए पनि संक्रमित ओसार्न भने प्रयोग हुने छैन।

कोरोना समन्वय समितिको निर्देशनमा परिचालन गरिएका हेलिकोप्टरले स्वाब संकलन, स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीबाहेक संक्रमित व्यक्ति लिएर उडान गर्न नपाइने नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

‘हेलिकोप्टरमार्फत् संक्रमित व्यक्तिलाई ल्याउने क्रममा सँगै गएका चालक दल, स्वास्थ्यकर्मीलाई पुनः क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। र, प्रयोग भएको हेलिकोप्टरलाई पनि केही दिन ग्राउण्डेड गर्नुपर्ने हुन्छ,' लामिछानेले भने, 'चालक दल र स्वास्थ्यकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो उडानमार्फत संक्रमित व्यक्तिलाई सेवा नदिने निर्णय भएको हो।'

कोरोना नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले हेलिकोप्टर कम्पनीलाई निर्देशनपत्र जारी गरेपछि यतिखेर विभिन्न वायुसेवा कम्पनीका हेलिकोप्टर कम्पनी स्ट्याण्ड बाइ रहेको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।

संघले अल्फाबेटिकल अर्डरका आधारमा स्वास्थ्य सामाग्री र स्वाब संकलनका लागि उडान गर्नका लागि कोरोना समन्वय समितिमा पत्र पठाइसकेको उनले जानकारी दिए।

‘सबै हेलिकोप्टर कम्पनीको समन्वयमा अल्फाबेटिकल अर्डरका आधारमा उडान गर्ने योजना बनाएका छौँ। हामीले सम्वन्धित निकायलाई रोस्टर पठाइसकेका छौँ। हामी अब उडान निर्देशनको प्रतिक्षामा छौं,’ प्रवक्ता कँडेलले भने।

अल्फाबेटिकल अर्डर अनुसार गर्न लागिएको उडान योजनामा केही गरी कुनै हेलिकोप्टर कम्पनीको क्रु तयार नभएको अवस्थामा अर्को हेलिकोप्टरबाट सेवा दिन तयार रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell