
केही समय यता विभिन्न देशहरुमा ट्युबरक्लोसिस (टिबी) विरुद्धको खोप बेसिल क्यालमेट गुयरिन भ्याक्सिन (बीसीजी)ले रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोरोना संक्रमणको जोखिम घटाउने भन्दै विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका छन्।
'ट्युबरक्लोसिसको भ्याक्सिन कोभिड-१९ विरुद्धको सम्भावित गेम चेन्जर' शीर्षकमा आइरिस टाइम्सले सामाग्री प्रकाशन गरेको छ। अप्रिल ४ मा प्रकाशित उक्त लेखले इम्युनोलोजिस्टहरुले बीसीजी भ्याक्सिनले विश्वव्यापी माहामारी बनेर फैलिएको कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने बताएको जनाएको छ।
बीसीजी खोप अनिवार्य लगाइने देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कम भएको तर्क राखेका थिए ट्रिनिटी कलेज डब्लिनका भ्याक्सिन विज्ञ लुक ओनिलले। उनले इटालीमा धेरै संक्रमितहरुको मृत्यु हुनुको कारण समेत बीसीजी भ्याक्सिन नलगाउनु भएको तर्क गरेका थिए। र, टिबीविरुद्धको सुईं लगाउनेलाई स्वास प्रस्वासको समस्या कम हुनुलाई पनि आफ्नो तर्कको आधार बनाएका थिए।
त्यस्तै लाइभ मिन्टले पनि एक मेडिकल अनुसन्धान छाप्ने साइटलाई उद्धृत गर्दै बीसीजी भ्याक्सिनको प्रयोग गर्ने देश र त्यहाँ संक्रमितको संख्या कम देखिनु अन्तरसम्बन्धित रहेको जनाएको थियो। यस भ्याक्सिन कोभिड-१९ विरुद्ध 'सिल्भर बुलेट' हुनसक्ने उल्लेख गरिएको छ।
विश्वभरका ६ वटा देशमा कोरोनाविरुद्ध बीसीजीको प्रयोगबारे अनुसन्धान भइरहेको छ, विशेषगरी युरोप र अस्ट्रेलियामा।
सन् १९२० को दशकको सुरुवातमा युरोपमा उत्पादित बीसीजी प्रभावकारी हुनसक्ने अनुमान विभिन्न अध्ययन र परीक्षणबाट गरिएको थियो। तर, पुष्टि गर्ने आधार भने भेटिएको थिएन। जसका लागि क्लिनिकल ट्रायल आवश्यक थियो।
अस्ट्रेलियाको मेलबर्नस्थित मर्डक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार अस्ट्रेलियाभरिका विभिन्न अस्पतालमा चार हजार स्वास्थ्यकर्मीहरु यस विषयको अध्ययनमा जुटेको बताइएको थियो।
अमेरिकी वैज्ञानिकहरु समेत यस विषयमा सकारात्मक थिए।
कोभिड–१९ को उपचारसँग जोडेर बीसीजी खोपबारे अमेरिकाको न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी (एनवाइआइटी)ले पनि अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ।
‘लामो समयदेखि बीसीजी खोपको राष्ट्रिय नीति लागू भएका देशमा कोरोना संक्रमितको संख्या न्यून छ। उक्त नीति कार्यान्वयनमा नभएका देशहरु इटाली, नेदरल्याण्ड्स, अमेरिका लगायतका देश कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित छन्,’ अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन्। यस अनुसन्धानको नेतृत्वकर्ता एनवाइआइटीका सहायक प्राध्यापक गोन्जालो ओटाजु हुन्।
विभिन्न देशका विज्ञ र अनुसन्धानकर्ताहरुले कोरोनाविरुद्ध बीसीजीबारे तर्क बितर्क गरिरहेका छन्। बीसीजी भ्याक्सिन उपलब्ध देशहरुमा आम मानिस खुशी भएका छन्। सामाजिक सञ्जालमा 'बीसीजी भ्याक्सिनले कोरोना ठीक पार्ने' शीर्षकसहित समाचारहरु सेयर भइरहेका छन्।
विश्व स्वास्थ्य संगठनले भने बीसीजीले कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्ने कुराको खण्डन गरेको छ।
संगठनले कोरोना भाइरस संक्रमण नियन्त्रणमा बीसीजी भ्याक्सिन प्रभावकारी भएको पुष्टि नभएको बताएको हो।
विज्ञप्तिमा लेखिएको छ, 'बीसीजी भ्याक्सिन कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि प्रभावकारी हुने कुरा प्रमाण र आधारहीन हुन्।'
'बीसीजीको प्रयोग कोरोनाविरुद्ध गर्न खोज्दा स्थानीय आपूर्तिमा विचलन आउँछ। जसका कारण नवजात शिशुलाई खोप नपुग्न सक्छ। र, टिबी रोग लाग्नेहरु र त्यसका कारण मर्नेहरुको संख्या बढ्न सक्छ,' संगठनको रिपोर्टमा जनाइएको छ।
यस विषयबारे तथ्य पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले दुई वटा क्लिनिकल परीक्षण गरिरहेको छ। परीक्षणका नतिजाहरुले यसबारे मूल्यांकन गर्ने जनाइएको छ।
बीसीजीसँगै मलेरियाको औषधी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने बताइएको छ। जसका कारण अमेरिका र भारतबीच ठूलो द्वन्द्व नै सिर्जना भयो।
मलेरियाको औषधीबारे पनि उस्तै चर्चा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण (कोभिड-१९)को उपचारमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्।
यता भारत हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने ठूला उत्पादकमध्येको एक हो।
भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ह्वात्तै बढ्नु र उक्त औषधी कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सकिने खबरहरु एकसाथ सावजनिक भए।
लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औषधी निर्यातमा रोक लगाउन निर्देशन दिएका थिए।
तर, ह्वाइट हाउसको प्रेस ब्रिफिङमा ट्रम्पले औषधिको निर्यातमा प्रतिबन्ध लगाउने भारतको निर्णय आफूलाई मन नपरेको बताए। मोदीको निर्णय उल्टियो। विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रहरुमा उचित मात्रामा औषधिको निर्यात गरिने बताइयो।
के साँच्चै काम गर्छ त उक्त औषधीले?
यस विषयमा पनि मानवमाथि परीक्षण भइसकेको छैन। चीन, अमेरिका, बेलायत र स्पेनले यसको परीक्षण गरिरहेका छन्।
औषधिको प्रभावबारे नतिजा नआउँदै यसको प्रयोग हुन थालिसकेको छ जुन निकै जोखिमपूर्ण छ। ट्रम्पले उक्त औषधीलाई उचित हुने घोषणा गरेपछि भने उक्त औषधिको ‘ओभरडोज’का कारण नाइजेरियामा बिरामीहरुलाई नकरात्मक प्रभाव परेको केही रिपोर्ट सार्वजनिक भए।
हाइड्रोक्सिक्लोरोक्विनको मात्रा सतर्कतापूर्वक नियन्त्रण नगरिए यसले शरीरमा गम्भीर असर गर्न सक्ने ल्यान्सेट मेडिकल जर्नलको एक आर्टिकलमा उल्लेख गरिएको छ।
विश्वका प्रख्यात राजनीतिज्ञ, विशेषज्ञ लगायतले चर्चा गरेको र सामाजिक सञ्जालदेखि मिडियाहरुमा समेत चर्चा भएको बीसीजी खोप र मलेरियाको औषधीबारे निश्चितताको अभाव भने कायम छ।