PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भारतबाट लुकीछिपी नेपाल छिर्ने क्रम तुरुन्त नियन्त्रण गर्न राप्रपा अध्यक्ष राणाको माग



पहिलोपोस्ट

भारतबाट लुकीछिपी नेपाल छिर्ने क्रम तुरुन्त नियन्त्रण गर्न राप्रपा अध्यक्ष राणाको माग
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले उच्च जोखिम भएका सुदूरपश्चिमका जिल्लाहरूमा लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नु पर्ने बताएका छन्।

कोभिड-१९ संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको राणाले सरकारलाई सुझाव दिएका छन्। कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा सीमा पार गर्न सकिने असाध्यै धेरै अनौपचारिक बाटो र विकल्पहरू भएको उनको भनाइ छ।

‘सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो, जंगलबाट बन्दाबन्दीमै लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम जारी छ। सुरक्षा अंग तत्काल परिचालन गरी ती स्थानमा सख्त निगरानी गर्नुपर्छ,’ मंगलवार एक सन्देश जारी गर्दै अध्यक्ष राणाले भने।

दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित जोखिमप्रति पनि सजगता अपनाउनु पर्ने राणाको भनाइ छ।

यसै पनि कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राखेर भारतबाट कति मान्छे गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नु पर्ने राणाले बताए। त्यस्तालाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने उनको भनाइ थियो।

बिचौलियाका कारण राजधानी भित्रिने तरकारीको भाउ असाध्यै बढेकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘काठमाडौं आउने तरकारीको भाउ अव्यवहारिक रूपले बढेको छ जबकी धादिङ, मकवानपुर, काभ्रेका किसानले पाउने मूल्य गिर्दो छ। यसबाट बिचौलियाले चलखेल गरेको प्रष्ट हुन्छ,’ उनले भने।

समाधानका रूपमा अध्यक्ष राणाले, किसान र उपभोक्ता दुवैलाई लाभ हुने संकटकालिन ढुवानी व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell